काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान राजनीतिक अवस्थाले जनताको चाहनाअनुसारको व्यवस्था अझै पूर्ण रूपमा स्थापित हुन नसकेको बताएका छन्। कम्युनिष्ट आन्दोलनको ७७औँ स्थापना दिवस तथा लेनिन जयन्तीका अवसरमा जारी सन्देशमार्फत उनले नेपाली क्रान्तिलाई अगाडि बढाउन वामपन्थी तथा कम्युनिष्ट शक्तिहरूबीच एकता अपरिहार्य भएको उल्लेख गरेका हुन्।
प्रचण्डले विश्व परिवेशमा साम्राज्यवाद झन् आक्रामक बन्दै गइरहेको सन्दर्भमा लेनिनका विचार र मार्गदर्शन अझ सान्दर्भिक बनेको धारणा राखेका छन्। उनले सबै प्रकारका विभेद अन्त्य गर्दै समतामूलक समाज निर्माण गर्न समाजवाद र साम्यवादको लक्ष्य बोकेका शक्तिहरूबीच सहकार्य र एकता आवश्यक रहेको बताएका छन्।
उनका अनुसार नेपाली कम्युनिष्ट आन्दोलनले ऐतिहासिक संघर्षमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको भए पनि अब त्यसलाई संस्थागत गर्दै श्रमजीवी वर्ग, किसान र उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न अझ सशक्त ढंगले अघि बढ्नुपर्ने आवश्यकता छ। उनले विगतका उपलब्धिहरूको रक्षा गर्दै आन्दोलनको पुनर्गठन गर्न सबैलाई आह्वान गरेका छन्।
सन्देशमा उनले शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते तथा शहीद परिवारप्रति सम्मान व्यक्त गरेका छन्। साथै, वर्तमान चुनौतीहरूको सामना गर्न कम्युनिष्ट शक्तिहरू एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।





























प्रतिक्रिया