मदन भण्डारी राजमार्गमा घट्यो दुरी

मदन भण्डारी राजमार्गमा घट्यो दुरी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं। पूर्वी सुर्खेतमा मदन भण्डारी राजमार्गको स्तरोन्नतिले यातायात सञ्जालमा ठूलो परिवर्तन ल्याएको छ। वीरेन्द्रनगरबाट दाङ, तुलसीपुर, सल्यान, रुकुम तथा काठमाडौँसम्म पुग्न अब कोहलपुर हुँदै घुमेर जानुपर्ने बाध्यता हट्दै गएको छ। यसले सुर्खेतवासीका लागि यात्रा समय मात्र होइन, दूरी र खर्च दुवै घटाएको छ।

सडक डिभिजन कार्यालय सुर्खेतका अनुसार कोहलपुर मार्गको तुलनामा मदन भण्डारी राजमार्ग प्रयोग गर्दा करिब ४५ किलोमिटर दूरी घटेको छ। वीरेन्द्रनगर–धुलियाबिट–भेडाबारी हुँदै दाङको लमही पुग्न १५३ किलोमिटर मात्र पर्ने भए पनि कोहलपुर मार्गमा १९७ किलोमिटर यात्रा गर्नुपर्ने अवस्था थियो।

पहिले दाङ, सल्यान र रुकुमसँग सुर्खेतको सिधा यातायात सम्पर्क नहुँदा कोहलपुर हुँदै लामो घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो। अहिले राजमार्ग कालोपत्रे भएसँगै साना तथा ठूला सवारीसाधन सीधै यही मार्गबाट सञ्चालन हुन थालेका छन्, जसले क्षेत्रीय यातायात सञ्जाललाई नयाँ गति दिएको छ।

यातायात व्यवसायीका अनुसार दूरी छोटिँदा इन्धन खपतमा करिब २० लिटरसम्म बचत हुने भएकाले सञ्चालन लागत घटेको छ। यात्रुका लागि यो मार्ग छिटो, सहज र सुविधाजनक बनेको छ भने व्यवसायीका लागि भने कोहलपुर मार्गमा हुने अतिरिक्त यात्रु आम्दानी घट्दै गएको छ।

Logo