काठमाडौँ । नेपाली कांग्रेसले गठन गरेको संविधान संशोधन सुझाव समितिले औपचारिक रूपमा काम सुरु गरेको छ। उपसभापति पुष्पा भुसालको संयोजकत्वमा रहेको १७ सदस्यीय समितिको पहिलो बैठक मंगलबार बसेको हो।
बैठकमा सभापति गगन थापा, महामन्त्री प्रदीप पौडेल तथा अन्य शीर्ष नेताहरू सहभागी थिए। सभापति थापाले संविधान कार्यान्वयनको दशकपछि देखिएका व्यवहारिक समस्या र समयानुकूल सुधारको आवश्यकता रहेको उल्लेख गर्दै समितिलाई गम्भीर अध्ययन र सुझावमा केन्द्रित हुन निर्देशन दिएका थिए।
समितिले संविधानको विस्तृत अध्ययन गर्दै संशोधनका लागि प्रारम्भिक मस्यौदा तयार गर्ने तयारी गरेको छ। साथै, विज्ञ, सरोकारवाला पक्ष र नागरिकहरूसँग छलफल गरी सुझाव संकलन गर्ने योजना बनाइएको छ।
यसैबीच, सरकारले पनि संविधान संशोधनसम्बन्धी गृहकार्य अघि बढाउन छुट्टै संयन्त्रमार्फत दलहरूसँग समन्वय गरिरहेको छ। तर, कांग्रेसले सरकारको समितिमा आफ्नो प्रतिनिधि पठाउने विषयमा भने अहिलेसम्म निर्णय गरेको छैन।
सदस्य सचिव राजु कटुवालका अनुसार सरकारको अनुरोधअनुसार शुक्रबारभित्र प्रतिनिधि पठाउनुपर्ने भए पनि पार्टीभित्र छलफल जारी छ। समितिको अर्को बैठक बिहीबार बस्नेछ।





























प्रतिक्रिया