बाँके। सिक्टा सिँचाइ आयोजनाले जिल्लाको करिब २४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याएपछि बाँकेका किसानको खेती प्रणालीमा उल्लेख्य परिवर्तन देखिएको छ।
सिँचाइको पहुँच बढेसँगै किसानहरू अब वर्षमा दुई बालीमा सीमित नरही तीन बाली खेतीतर्फ उन्मुख भएका छन्। बर्खेधानपछि खेत बाँझो राख्ने परम्परा घट्दै गएको छ। अहिले धानपछि आलु, तोरी र त्यसपछि वसन्ते मकै खेती गरेर किसानले थप आम्दानी गर्न थालेका छन्।
कृषि ज्ञान केन्द्रका अनुसार सिँचाइ सुविधा उपलब्ध भएका क्षेत्रमा खेती सघनता बढ्दै गएको छ। आलु र मकैजस्ता नगदेबालीबाट किसानले प्रत्यक्ष आर्थिक लाभ लिन थालेका छन्।
सिक्टा सिँचाइ आयोजनाका निर्देशकका अनुसार बाँकेमा करिब ४२ हजार हेक्टर जमिनमा सिँचाइ पुर्याउने लक्ष्य भए पनि हालसम्म २४ हजार हेक्टरमा प्रत्यक्ष पानी पुगेको छ। आवश्यक समयमा नहरमा पानी छोडिँदा खेती चक्र सहज बनेको बताइएको छ।
कृषक संघका प्रतिनिधिहरूले नियमित सिँचाइ सुनिश्चित हुन सके बाँके कृषि उत्पादनको केन्द्र बन्न सक्ने र किसानको जीवनस्तरमा उल्लेख्य सुधार आउने बताएका छन्।





























प्रतिक्रिया