टीकापुर। टीकापुरका स्थानीयले कर्णाली नदी कटान नियन्त्रणका लागि प्रभावकारी काम नभएको गुनासो गरेका छन्। उनीहरूले नदी कटान रोक्न ठोस योजना र पर्याप्त बजेटको माग गरेका छन्। टीकापुर नगरपालिकामा सङ्घ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिबीच भएको संयुक्त छलफलमा सहभागीहरूले कर्णाली नदीको कटान समयमै नियन्त्रण नभए तल्लो क्षेत्र उच्च जोखिममा पर्ने चेतावनी दिएका छन्।
स्थानीयका अनुसार टीकापुर पार्कको माथिल्लो क्षेत्र र सत्ती कर्णाली सामुदायिक वन क्षेत्रमा नदीले तीव्र कटान गरिरहेको छ। वर्षौंदेखि समस्या उठाउँदै आए पनि स्थायी समाधान हुन नसकेको उनीहरूको भनाइ छ। टीकापुर–५ का स्थानीय अनन्त खड्काले विभिन्न निकाय धाउँदा पनि समस्या समाधान नभएको बताए। उनले तटबन्धलाई प्राथमिकता दिएर स्थायी समाधान गर्नुपर्ने माग गरे।
टीकापुर–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले नदीजन्य कानुनका कारण पनि समस्या बढेको भन्दै उत्खनन र व्यवस्थापनमा सहजता आवश्यक रहेको बताए। कार्यवाहक नगर प्रमुख रामबहादुर नगार्जीले तिनै तहका सरकार मिलेर नदी कटान नियन्त्रणमा लाग्नुपर्ने आवश्यकता औँल्याए। उनले स्रोत अभावका कारण स्थानीय तहले मात्रै समाधान गर्न नसक्ने बताए।
रानीजमरा कुलरिया सिँचाइ आयोजना कार्यालयले केही स्थानमा तटबन्धको काम भइरहेको बताए पनि बजेट अभाव र निर्माण व्यवसायीको असहयोगका कारण काम सुस्त भएको जनाएको छ। यसैबीच, सांसद कोमल ज्ञवालीले नदी कटानलाई गम्भीर विपद्का रूपमा लिएर संसद्मा आवाज उठाएको र दीर्घकालीन समाधानका लागि बजेट सुनिश्चिततामा पहल गर्ने बताएका छन्।































