पेट्रोलियम पदार्थको मूल्यवृद्धिको प्रभाव दरवाङ–मुना–ढोरपाटन निर्माणमा

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको प्रभाव दरवाङ–मुना–ढोरपाटन निर्माणमा

केन्द्रबिन्दु
15
Shares

म्याग्दी। म्याग्दीको रणनीतिक महत्वको दरवाङ–मुना–ढोरपाटन सडक योजना निर्माण कार्य सुस्त भएको छ । मालिका गाउँपालिकाको दरवाङदेखि धौलागिरिको मुना जोड्ने सडकलाई कालोपत्र र ढलानमार्फत स्तरोन्नति गर्ने योजना गण्डकी प्रदेश र सङ्घीय सरकारको साझेदारीमा अघि बढाइएको भए पनि हालसम्म अपेक्षित प्रगति हुन नसकेको स्थानीयवासीले बताएका छन् ।

स्थानीय अगुवा बुद्धिमान शेरपुञ्जाका अनुसार करिब रु २३ करोड बजेट विनियोजन भएको यस योजनामा हालसम्म करिब रु पाँच–छ करोड बराबरको मात्र काम भएको छ । निर्माण कम्पनीले पछिल्लो समय मजदुर तथा उपकरणको सङ्ख्या घटाएको कारण कामको गति झनै सुस्त भएको उनको भनाइ छ ।

पूर्वाधार विकास कार्यालयका अनुसार योजनाको भौतिक प्रगति करिब १० प्रतिशत मात्र रहेको छ । इञ्जिनियर डा। महेन्द्र बानियाँले इन्धन तथा निर्माण सामग्रीको मूल्यवृद्धिलाई ठेकेदारले काम सुस्ताउने मुख्य कारणका रूपमा देखाएको जानकारी दिए । उनका अनुसार मूल्यवृद्धिका कारण निर्माण कार्य प्रभावित हुँदा बजेट खर्च र अन्य योजनामा समेत असर पर्ने अवस्था देखिएको छ ।

सङ्घीय र प्रदेश सरकारको ५०–५० प्रतिशत लागत साझेदारीमा सञ्चालन भइरहेको यस योजनाको ठेक्का अवधि २७ महिनाको छ । चालु आर्थिक वर्षका लागि मात्र रु २३ करोडभन्दा बढी बजेट विनियोजन गरिएको छ । तर कामको गति यस्तै रह्यो भने निर्धारित समयमा आयोजना सम्पन्न नहुने जोखिम बढेको बताइएको छ ।

स्थानीय जनप्रतिनिधि र सरोकारवालाले सडक निर्माणमा ढिलाइ हुँदा क्षेत्रीय विकास र यातायात पहुँचमा समस्या बढ्ने भन्दै छिटो काम अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदेश सांसद रेशमबहादुर जुग्जालीले पनि योजनाको गति बढाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको बताएका छन् ।

यो सडक निर्माण सम्पन्न भए म्याग्दी, बागलुङ र पूर्वी रुकुमका बासिन्दालाई आवतजावतमा करिब ५० किलोमिटर दूरी छोटो पर्नेछ, जसले क्षेत्रीय यातायात र आर्थिक गतिविधिमा उल्लेखनीय सहजता ल्याउने अपेक्षा गरिएको छ।

Logo