नेपालको खाद्य, पेय पदार्थ तथा आतिथ्य (हस्पिटालिटी) क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यका साथ राजधानीको भृकुटीमण्डपमा ‘ग्याट फुड, बेभरेज एण्ड हस्पिटालिटी एक्स्पो २०२६’ भव्य रूपमा सुरु भएको छ।
विगत दुई दशकमा नेपालको होटल, रेस्टुरेन्ट र खाद्य प्रशोधन व्यवसायमा आएको अभूतपूर्व वृद्धिलाई मध्यनजर गर्दै आयोजना गरिएको यो एक्स्पोले नेपाली खानपान संस्कृति र व्यावसायिक परिदृश्यमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।
हाल नेपालको खाद्य र पेय पदार्थ क्षेत्रमा २५ हजार ५ सयभन्दा बढी व्यावसायिक प्रतिष्ठानहरू सक्रिय छन्, जसले झन्डै ९४ हजार नागरिकलाई प्रत्यक्ष रोजगारी प्रदान गरेका छन्। सन् २०२३ मा १२ लाखभन्दा बढी पर्यटक भित्रिएको र आगामी दुई वर्षभित्र थप २५ वटा नयाँ तारे होटलहरू सञ्चालनमा आउने तयारीमा रहेकाले यस क्षेत्रमा लगानीकर्ताहरूको आकर्षण ह्वात्तै बढेको छ। विशेष गरी ‘फाइन डाइनिंग’ र विलासी आवासका क्षेत्रमा नयाँ सम्भावनाहरू देखिएका छन्।
यस पटकको एक्स्पोमा स्थानीय स्रोतको उपयोग, अर्गानिक उत्पादन र वातावरणीय दिगोपनलाई प्राथमिकता दिइएको छ। प्रदर्शनीमा आधुनिक प्रविधिहरूको प्रयोग जस्तै, क्यूआर कोड मेनु र डिजिटल पेमेन्ट, क्लाउड किचेनको अवधारणा र एआईसञ्चालित होटल सेवाहरूका साथै नेपाली कफी, क्राफ्ट बियर र हर्बल चिया जस्ता निर्यातजन्य उत्पादनहरूले पनि विशेष स्थान पाएका छन्।
“प्रत्यक्ष भेटघाट—व्यवसाय गर्ने एकमात्र प्रभावकारी तरिका” भन्ने नाराका साथ सञ्चालित यो एक्स्पोमा होटल, रिसोर्ट, र क्याफे सञ्चालकहरूका लागि नवीनतम किचनवेयर, सजावटका सामान र प्रविधिहरू एउटै छानोमुनि उपलब्ध छन्। खुद्रा व्यापारी, सुपरमार्केट सञ्चालक र बेकरी उद्योगीहरूका लागि यो मेला नयाँ आपूर्तिकर्ताहरूसँग सम्बन्ध गाँस्ने र अन्तर्राष्ट्रिय प्याकेजिङ प्रविधि बुझ्ने महत्वपूर्ण अवसर बनेको छ।
सन् २०२४ को संस्करणमा ३० हजारभन्दा बढी आगन्तुक र ३ सयभन्दा बढी कम्पनीहरूको सहभागिता रहेको थियो । यस वर्ष सहभागी संख्या र व्यावसायिक कारोबारमा अझ वृद्धि हुने आयोजकको अपेक्षा छ ।
देशमा कायम भएको राजनीतिक स्थायित्व र उद्योगमैत्री नीतिका कारण आतिथ्य क्षेत्रले अबको दिनमा थप गति लिने र यो एक्स्पोले नेपालको सम्पूर्ण आपूर्ति शृङ्खलालाई एकीकृत गर्न रणनीतिक भूमिका खेल्ने देखिएको छ।





























प्रतिक्रिया