अरनिको राजमार्ग विस्तार सुस्तः मूल्यवृद्धि र सामग्री अभाव मुख्य कारण

अरनिको राजमार्ग विस्तार सुस्तः मूल्यवृद्धि र सामग्री अभाव मुख्य कारण

केन्द्रबिन्दु
9
Shares

काभ्रेपलाञ्चोक। भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्मको अरनिको राजमार्ग विस्तार आयोजनामा पछिल्लो समय सुस्तता देखिएको छ। करिब १६ किलोमिटर सडकलाई छ लेनमा विस्तार गर्ने लक्ष्यसहित तीन वर्षअघि सुरु गरिएको आयोजनाको हालसम्म करिब ७० प्रतिशत भौतिक प्रगति भएको छ।

निर्माण कार्य पछिल्लो डेढ महिनादेखि खासै अघि बढ्न सकेको छैन। निर्माण सामग्रीको मूल्य अस्वाभाविक रूपमा बढ्नु, आवश्यक सामग्री अभाव हुनु र बजारको असहज अवस्थाले कामको गति घटाएको निर्माण कम्पनीहरूले बताएका छन्। विशेषगरी भारतबाट आयात गरिने बिटुमिन लगायतका सामग्री सहज रूपमा उपलब्ध नहुँदा समस्या बढेको जनाइएको छ।

साँगा–धुलिखेल खण्डमा करिब ७० प्रतिशत काम सम्पन्न भए पनि सूर्यविनायक–साँगा खण्डमा प्रगति कमजोर (करिब ४८ प्रतिशत) रहेको छ। निर्माण कम्पनी लामा कन्स्ट्रक्सनका अनुसार तोकिएको समयसीमाभित्र काम सक्न कठिन देखिएको छ। कम्पनीले ‘कन्स्ट्रक्सन होलिडे’ घोषणा र मूल्य समायोजनको मागसमेत अघि सारेको छ।

वर्षायाम नजिकिँदै जाँदा जोखिम थप बढ्ने भन्दै स्थानीय प्रशासनले सतर्कता अपनाउन निर्देशन दिएको छ। धुलो, हिलो र चिप्लोपनका कारण यात्रु र स्थानीय बासिन्दाले दैनिक समस्या भोगिरहेका छन्।

आयोजना प्रमुख विजयकुमार महतोले निर्धारित समयमै काम सम्पन्न गर्न चुनौती रहेको स्वीकार गर्दै सामग्री आपूर्ति सहज बनाउन सरकारी स्तरबाट पहल भइरहेको जानकारी दिनुभयो।

हाल विभिन्न स्थानमा कटिङ, ग्राभेल, पर्खाल निर्माण, कल्भर्ट जडान तथा कालोपत्रको तयारी भइरहेको छ। साथै, साँगा क्षेत्रमा अन्डरपास निर्माण र तीनवटा पुलको काम पनि जारी छ।

यो सडक विस्तार सम्पन्न भएपछि काठमाडौं उपत्यका र काभ्रेपलाञ्चोकबीचको यातायात सहज हुने, ट्राफिक व्यवस्थापन सुधारिने र पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Skip This
Skip This
Logo