भारतीय सेनाध्यक्षको नेपाल भ्रमणः सैनिक कूटनीतिदेखि पर्यटन प्रबर्धनसम्म सहयोगी

भारतीय सेनाध्यक्षको नेपाल भ्रमणः सैनिक कूटनीतिदेखि पर्यटन प्रबर्धनसम्म सहयोगी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेको नेपाल भ्रमण सैनिक कूटनीतिमा मात्र सीमित नरही धार्मिक, सांस्कृतिक, पर्यटकीय र स्वास्थ्य कूटनीति प्रबद्र्धनका हिसाबले निकै महत्वपूर्ण सावित भएको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणमा नेपालको तीनदिने औपचारिक भ्रमण गरेका सेनाध्यक्ष नरवणेले विभिन्न तहमा गरेको भेटघाट र भ्रमणले नेपाल–भारतबीचको सम्बन्ध सैनिक र राजनीतिक तहमा मात्र नभई सांस्कृतिक एवं धार्मिक तथा पर्यटकीय क्षेत्रसँग पनि उत्तिकै जोडिएको पक्षलाई उजागर गरेको छ । संसारमै बिरलै हुने खुला सिमाना तथा राहदानी र प्रवेशाज्ञाविना एक देशबाट अर्को देशमा सहजै आवतजावतको अभ्यास दुवै देशका नागरिकबाट हुनु दुई देशको घनिष्ठ सम्बन्धको महत्वपूर्ण पक्ष भएको शायदै विश्वलाई थाहा होला ।

काठमाडौँ अवतरण गरेको केही बेरमै सेनाध्यक्ष नरवणे वसन्तपुर र हनुमानढोका क्षेत्र पुगेर त्यहाँका प्राचीन सम्पदा र मन्दिरको अवलोकनका साथै जीवित देवी कुमारी र कालभैरव दर्शन गर्न पुगेका थिए । प्राज्ञ प्रा दिनेशराज पन्तले कोरोनाको महामारीबीचमा भारतीय सेनाध्यक्षले हनुमानढोका क्षेत्रको भ्रमण तथा पशुपतिनाथ र कुमारीको दर्शन गर्नु भनेको भारतीयहरुमा यस क्षेत्रप्रति कति आस्था र विश्वास रहेछ भन्ने स्पष्ट हुने बताए ।

नेपाल–भारतका सेनाबीच एक अर्का देशका सेनाप्रमुखलाई मानार्थ महारथीको उपाधि प्रदान गर्ने परम्परा अनुरुप यहाँ आएका सेनाध्यक्ष नरवणेको नेपाल भ्रमणबाट दुईदेशबीच राजनीतिक र कूटनीतिक तहमा देखिएको संवादहीनता छिट्टै अन्त्य हुने अपेक्षा गरिएको छ । कोभिड–१९ को जोखिमका कारण मन्दिर प्रवेशका लागि ढोका बन्द रहे पनि उनले विश्वका हिन्दू धर्मावलम्बीका आस्थाको केन्द्र पशुपति क्षेत्र पुगेर बाहिरबाटै दर्शन गरेका थिए ।

पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव डा गोविन्द टण्डन भन्छन् , “ढोका बन्द भएकाले उनले त्यहाँ पुगेर बाहिरबाटै भने पनि दर्शन गर्नु भनेको आराध्यदेव पशुपतिनाथप्रतिको ठूलो श्रद्धा सुमन र सम्मान हो ।” भारतीय सेनाध्यक्षले पशुपतिनाथको दर्शन गरेबाट यस क्षेत्रको महत्व उजागर भएको बताउँदै उनले भने, “बाहिरबाटै दर्शन गरेर पनि सेनाध्यक्षले आफूलाई अहोभाग्य सम्झनुभयो, यस क्षेत्रको महत्व कति रहेछ भन्ने विश्वलाई जानकारी गराउन हामीले अब ‘टेम्पल डिप्लोमेसी’को अवधारणा अघि बढाउनुपर्छ । यो सम्बन्ध सुधार गर्ने अर्को उचित बाटो पनि हुन्छ ।”

नेपालका कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले अतिक्रमण गरी आफ्नो राजनीतिक नक्शामा समेटेपछि नेपालले त्यसको विरोध गर्दै समस्या समाधान गर्न निरन्तर वार्ता र संवादका लागि पहल गरिरहेकै अवस्थामा भएको सेनाध्यक्षको यस भ्रमणबाट सम्बन्ध सुधारतर्फ राम्रो शुरुआतको सङ्केत देखिएको विश्लेषण गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँगको शिष्टाचार भेटमा मित्रवत् र बलियो सम्वन्ध कायम राख्न दुवै देशले निरन्तर मेहनत गर्नुपर्ने सन्देश लिएर उनी नयाँ दिल्ली फर्किएका छन् । मुलुकको कूटनीतिको एक हिस्सा र विगतमा सकारात्मक परिणाम हात पारेको अनुभवका आधारमा सैनिक कूटनीतिको प्रयोगबाट पनि नेपाल–भारतबीच पछिल्लो समय देखिएको संवादहीनताको गतिरोध अन्त्य गर्न कोशिश गरिएकाले सम्बन्ध सुमधुर तुल्याउन र विवाद मत्थर गर्न योगदान पुग्ने विश्वास गरिएको छ ।

नेपाली सैनिक मुख्यालयले दुवै देशका सेनाबीच रहि आएको अत्यन्तै सुमधुर सम्बन्धको सङ्केत गर्न उपहारस्वरुप शान्तिका दूत गौतम बुद्धको ठूलो प्रतिमा सेनाध्यक्षलाई प्रदान गरेको थियो । भारतीय सेनाले पनि कोभिड–१९ को जोखिमको सामना गरिरहेका नेपाली जनताको स्वास्थ्योपचारको पाटोलाई हेक्का गर्दै घुम्ती अस्पताल सञ्चालन गर्न आवश्यक एम्बुलेन्स, भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री र उपकरण हस्तान्तरण गर्नाले सदिऔँदेखि दुई देशबीचको धार्मिक, सांस्कृतिक, सामाजिक र भाइचाराको गहिरो सम्बन्धलाई पुन प्रष्ट्याएको छ ।

दुई देशबीचमा कतिपय विषयमा रहेका समस्या संवादमार्फत नै समाधान हुने प्रधानमन्त्री केपी शर्मा ओलीबाट व्यक्त धारणाको सन्देश पनि लिएर उनी फर्किएका छन् । यसबाट नेपालले राजनीतिकस्तरको समस्या सुल्झाउन सकिने सन्देश पनि नेपाली जनताको अपेक्षा अनुरुप नै प्रवाह गर्न सफल भएको छ ।

नेपाल भ्रमणका क्रममा उनी सगरमाथा क्षेत्रको दृश्यावलोकन गर्ने क्रममा स्याङ्बोचेस्थित होटल एभरेष्ट भ्यू पुगेका थिए । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले कोभिड–१९ बाट उत्पन्न यस्तो विषम अवस्थामा उनको सगरमाथा क्षेत्रको भ्रमणले नेपालको पर्यटन प्रबर्धनमा ठूलो सकारात्मक सन्देश दिएको प्रतिक्रिया दिए । उनले भने, “सेनाध्यक्ष नरवणेको भ्रमणको भारतीय सञ्चार माध्यमले पनि राम्रोसँग समाचार कभर गरेको हुनाले भारतीयमा सगरमाथा क्षेत्र नजीकको पर्यटन गन्तव्य रहेछ भन्ने सन्देश गएको छ । यो हाम्रो देशको पर्यटन प्रवर्धनका लागि ठूलो विज्ञापन हो, ठूलो अवसर हो ।”

Logo