काठमाडौँ । वैशाख १६ गते देखि धमाधम आइपिओ निष्कासन हुने भएका छन् । वैशाख १६ गतेदेखि लगातार ६ वटा कम्पनीले आइपिओ जारी गर्न भएका हुन् । जसमा सर्वसाधारण, वैदेशिक रोजगारी र स्थानीयका लागि विभिन्न सेक्टरका ६ कम्पनीले आइपिओ जारी हुन लागेको हो ।
यही वैशाख १६ गते याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले १७ लाख ४३ हजार कित्ता आइपिओ जारी गर्नेछ । यसमा वैशाख १६ गतेदेखि वैशाख २२ गतेसम्म, न्यूनतम १० देखि अधिकतम २१ हजार कित्तासम्म आवेदन दिन सकिने छ ।
वैशाख २३ गते टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आइपिओ जारी गर्दैछ ।कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले २५ लाख १५ हजार ४५५ कित्ता आइपिओ जारी गर्नेछ । यसमा वैशाख २८ गतेसम्म आवेदन दिन सकिने छ । त्यस्तै वैशाख २९ गतेदेखि स्नो रिभर्स लिमिटेडले सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्ने भएको छ ।कम्पनीले दोस्रो चरणमा ७ लाख ७८ हजार १२५ कित्ता साधारण शेयर प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा बिक्री गर्न लागेको हो ।
इक्रा नेपालले कम्पनीलाई ‘डबल बी प्लस’ रेटिङ दिएको छ, जसले मध्यम जोखिम सङ्केत गर्दछ । वैशाख १६ गतेदेखि एभरेस्ट कलर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पहिलो चरणको आइपिओ जारी गर्दैछ । यसमा वैशाख २२ गतेसम्म आवेदन दिन सकिने छ । त्यस्तै वैशाख १७ गतेदेखि माउण्ट एभरेस्ट पावर डेभलपमेण्ट लिमिटेडले स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ जारी गर्दै छ । यसमा वैशाख १७ गतेदेखि वैशाख २३ गतेसम्म आवेदन दिन सकिन्छ ।
वैशाख २१ गतेदेखि सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ ल्याउँदै छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ८५ हजार कित्ता आइपिओ जारी गर्नेछ ।यसमा वैशाख २४ गतेसम्म आवेदन दिन सकिने छ ।
कम्पनीले ३४ करोड रुपैयाँ जारी पूँजीको २५ प्रतिशत अर्थात् ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आइपिओ निष्कासन गर्ने अनुमति पाएको हो ।































