काठमाडौं । नेपालका लागि सीजी मोटर्सले अत्याधुनिक प्रविधि र शक्तिशाली प्रदर्शनसहितको किङ लङ १६ सिटर इलेक्ट्रिक भ्यान औपचारिक रूपमा सार्वजनिक गरेको छ।
काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमका बीच वडा नं. ३ का वडा अध्यक्ष प्रेम थापाले रिबन काटेर यस नयाँ मोडेलको औपचारिक उद्घाटन गरेका हुन् । यो विद्युतीय भ्यानले नेपालको व्यावसायिक सवारी साधनको क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ।
यस १६ सिटर भ्यानको मुख्य विशेषता यसमा प्रयोग गरिएको ७५.४१ किलोवाट आवरको ब्लेड ब्याट्री हो, जुन यस सेगमेन्टमै पहिलो पटक भित्र्याइएको हो। यो ब्याट्रीले उच्च सुरक्षा, लामो आयु र उत्कृष्ट रेन्ज प्रदान गर्दै दैनिक सञ्चालनलाई अझ भरपर्दो बनाउने कम्पनीको दाबी छ।
साथै, भ्यानमा जडान गरिएको १२० किलोवाटको शक्तिशाली मोटरले सशक्त पर्फर्मेन्स सुनिश्चित गर्नुका साथै यसको आरामदायी र फराकिलो इन्टेरियरले यात्रीहरूको यात्रालाई सहज र सुखद बनाउनेछ।
सन् १९८८ मा चीनको सियामेनमा स्थापना भएको किङ लङ तीन दशकभन्दा लामो अनुभव बोकेको विश्वविख्यात बस तथा कमर्शियल भेहिकल निर्माता कम्पनी हो। सीजी मोटर्सका अनुसार नेपालमा बढ्दो इको-फ्रेन्डली र किफायती यातायातको आवश्यकतालाई मध्यनजर गर्दै यो भ्यान ल्याइएको हो। हालसम्म नेपालभर किङ लङले ५,००० भन्दा बढी युनिट बिक्री गरिसकेको छ भने २६० भन्दा बढी चार्जिङ स्टेशन र २० भन्दा बढी सर्भिस स्टेशनमार्फत ग्राहकहरूलाई सेवा दिँदै आएको छ।
नयाँ किङ लङ १६ सिटर भ्यान ७२ लाख ५० हजार रुपैयाँको प्रारम्भिक मूल्यमा उपलब्ध गराइएको छ। यो मूल्य र यसका विशेषताहरूले यातायात व्यवसायी र फ्लीट अपरेटरहरूका लागि यो एउटा अत्यन्तै आकर्षक विकल्प बन्ने देखिएको छ।































