काठमाडाैं । इजरायलका पूर्वप्रधानमन्त्री नाफ्ताली बेनेट र विपक्षी नेता याइर लापिडले आगामी निर्वाचनमा वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको वर्चस्व तोड्न पुनः हात मिलाएका छन्। दुवै नेताले ‘टुगेदर’ नामक नयाँ पार्टी स्थापना गरी चुनावमा होमिने घोषणा गरेका हुन्।
सन् २०२१ मा नेतन्याहुको १२ वर्षे शासन अन्त्य गर्न सफल भएको यो जोडीले फेरि एकपटक राष्ट्रवादी र मध्यमार्गी शक्तिलाई एकीकृत गर्ने प्रयास गरेको छ । सो अवसरमा बोल्दै बेनेटले यो गठबन्धनले इजरायलमा नयाँ युगको सुरुवात गर्ने र ठूलो विजय हासिल गर्ने दाबी गरे।
यद्यपि, ‘जेरुसेलम पोस्ट’ द्वारा सोमबार सार्वजनिक गरिएको पछिल्लो जनमत सर्वेक्षणले भने यो नयाँ ब्लकलाई अपेक्षित सफलता नमिल्ने देखाएको छ। सर्वेक्षणका अनुसार यो गठबन्धनले दुवै नेता अलग-अलग लड्दा पाउने सिट संख्याभन्दा चार सिट कम पाउने देखिएको छ भने नेतन्याहुको ‘लिकुड’ पार्टीभन्दा एक सिट पछि रहने प्रक्षेपण गरिएको छ।
विश्लेषकहरूका अनुसार यो गठबन्धनले इजरायलको आन्तरिक राजनीतिमा हलचल पैदा गरे तापनि प्यालेस्टिनी नागरिकहरूका लागि भने यसले खासै आशा जगाएको छैन। बेनेटले स्पष्ट रूपमा आफू प्यालेस्टिनी राज्यको विपक्षमा रहेको र आगामी सरकारमा केवल ‘जायोनिस्ट’ पार्टीहरूलाई मात्र सहभागी गराउने बताएका छन्। यसले इजरायलको २० प्रतिशत जनसंख्या ओगटेका अरब नागरिकहरूको प्रतिनिधित्वलाई सरकारबाट बाहिर राख्ने संकेत गरेको छ, जसको मानवअधिकारवादी संस्थाहरूले आलोचना गरेका छन्।
नेतन्याहु विरुद्ध भ्रष्टाचारका मुद्दा र अक्टोबर ७ को आक्रमण पछिको सुरक्षा कमजोरीलाई लिएर जनआक्रोश रहे पनि उनलाई विस्थापित गर्न बेनेट-लापिड गठबन्धनलाई सहज देखिँदैन । राजनीतिक विश्लेषक निम्रोद फ्लाशेनबर्गका अनुसार नेतन्याहुको लोकप्रियता घटे पनि उनको राष्ट्रवादी छवि अझै बलियो छ। अर्कोतर्फ, विगतमा बेनेट र लापिडको नेतृत्वमा बनेको परिवर्तनको सरकार आन्तरिक कलहका कारण एक वर्षमै ढलेकाले मतदाताहरूमा यो नयाँ गठबन्धनको स्थिरताप्रति आशंका कायमै छ।
प्रधानमन्त्री नेतन्याहुले भने यस गठबन्धनलाई “धोखाधडी” को संज्ञा दिँदै आलोचना गरेका छन्। उनले सन् २०२१ को अल्पकालीन गठबन्धनको उदाहरण दिँदै यो प्रयास फेरि असफल हुने दाबी गरे। यसैबीच, नेतन्याहुले हालै आफ्नो स्वास्थ्य अवस्थाबारे सार्वजनिक गर्दै प्रोस्टेटको क्यान्सरको सफल उपचार गराएको जानकारी दिएका छन्, जसले आगामी निर्वाचनमा उनको स्वास्थ्यलाई पनि मुख्य एजेन्डा बनाउन सक्ने देखिएको छ। हाल इजरायल युद्धमा होमिएको छ । गाजापछि इरान र लेबनानसँग जुधिरहेको अवस्था छ । युद्धमा सयौं इजरायलीले ज्यान गुमाएका छन् भने अर्बौं डलरको भौतिक क्षति भएको छ ।




















