हेटौंडा । बागमती प्रदेश सरकारका मन्त्रीहरूको जिम्मेवारी निर्धारण गरिएको छ। मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सिफारिसअनुसार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बिहीबार मन्त्रिपरिषद्का सदस्यको कार्यविभाजन स्वीकृत गरेका हुन्।
नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम गरिएको कार्यविभाजनसँग सम्बन्धित निर्णय प्रदेश प्रमुखको कार्यालयले विज्ञप्तिमार्फत सार्वजनिक गरेको हो।
कार्यविभाजनअनुसार शिवराज अधिकारीलाई आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ। उर्मिला नेपालले कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय सम्हाल्ने भएकी छन् भने कञ्चनचन्द्र बादेलाई स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी तोकिएको छ।
त्यसैगरी प्रभात तामाङ आर्थिक मामिला तथा योजना मन्त्रालयको नेतृत्वमा रहने छन्। यसैगरी सुरेश श्रेष्ठलाई उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ।
कृष्णकुमार तामाङले खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको नेतृत्व गर्नेछन्। बिनु रायमाझी पौडेललाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ।
यसअघि प्रदेश सरकारले २२ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकबाट मन्त्रालयको संख्या १४ बाट घटाएर आठमा सीमित गर्ने निर्णय गरेको थियो। उक्त व्यवस्था १ साउनदेखि कार्यान्वयनमा आए पनि सत्ता गठबन्धनभित्र मन्त्रालय बाँडफाँडमा सहमति हुन ढिलाइ हुँदा ६ जना मन्त्री केही दिन विभागविहीन अवस्थामा थिए।




















