काठमाडौं । रोल्पाको थवाङ गाउँपालिकामा भएको जिप दुर्घटनाको सत्यतथ्य छानबिन गर्न गठित समितिको तीन दिने समयसीमा आज समाप्त भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त छानबिन समितिको प्रतिवेदन प्राप्त हुनासाथ त्यसका निष्कर्ष र सुझावहरूलाई तत्काल कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।
गत वैशाख १७ गते दिउँसो करिब २:५० बजे थवाङ गाउँपालिका–१, सल्यापमा भएको उक्त दुर्घटनामा २० जना नागरिकको ज्यान गएको थियो। उक्त हृदयविदारक घटनाले सिङ्गो राष्ट्रलाई शोकमग्न बनाएको उल्लेख गर्दै सरकारले घटनालगत्तै लुम्बिनी प्रदेश प्रहरी कार्यालय, तुलसीपुरका प्रहरी उपरीक्षकको संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरेको थियो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता हेमराज अर्यालद्वारा जारी विज्ञप्तिमा सडक दुर्घटना नागरिकको जीवन र परिवारको भविष्यसँग जोडिएको अत्यन्तै गम्भीर विषय भएको उल्लेख गरिएको छ। दुर्घटनामा देखिएका प्राविधिक तथा मानवीय कमजोरीहरूलाई सुधार्न र देशभरकै सडक सुरक्षा प्रणालीमा आवश्यक नीतिगत एवं संरचनागत सुधार गर्न सरकार पूर्ण प्रतिबद्ध रहेको विज्ञप्तिमा छ।
यस दुःखको घडीमा सरकारले मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ। साथै, दुर्घटनामा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको समेत कामना गरिएको छ।































प्रतिक्रिया