भैरहवा । तराई क्षेत्रका मध्यवर्ती बस्तीहरूमा बढ्दो मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न नवीन प्रविधिको परीक्षण थालिएको छ । बाघ र चितुवाजस्ता वन्यजन्तु मानव बस्तीमा प्रवेश गर्नबाट रोक्ने उद्देश्यले कृत्रिम गन्ध सङ्केत प्रयोगमा ल्याइएको हो ।
तराई भूपरिधि तथा संरक्षण कार्यक्रमअन्तर्गत गत वर्षदेखि सुरु गरिएको यो प्रविधिले वन्यजन्तुको प्राकृतिक व्यवहारलाई आधार मानेर अदृश्य सीमा निर्माण गर्ने लक्ष्य लिएको कार्यक्रमका प्रबन्धक भरत भट्टले बताए । उनका अनुसार बाघ र चितुवाले आफ्नो क्षेत्र निर्धारण गर्न पिसाब वा नङले कोतरेर गन्ध छाड्ने गर्छन् । यही प्रक्रियालाई अनुसरण गर्दै कृत्रिम गन्ध प्रयोग गर्दा जनावरलाई आफ्नो क्षेत्रमा अर्को प्रतिस्पर्धी आएको भान हुन्छ र उनीहरू त्यहाँबाट टाढा सर्ने गर्छन् ।
मानव बस्तीमा वन्यजन्तु प्रवेश नगरुन् भन्ने उद्देश्यले ३० वटा रणनीतिक स्थानमा क्यामेरा र विशेष प्रकारका ‘डिस्पेन्सर’ जडान गरिएको छ। यी उपकरणले निश्चित गन्ध फैलाएर जनावरलाई फर्कन बाध्य बनाउँने वन प्राविधिकहरुले बताएका छन् ।
भट्टका अनुसार प्रयोग गरिएका गन्ध कुनै पनि हिसाबले हानिकारक छैनन् । यसले मानिस र वन्यजन्तु दुवैलाई असर नगर्ने बताइएको छ । प्रारम्भिक अध्ययनमा विभिन्न प्रकारका गन्धमध्ये केहीले चितुवा र बाघलाई प्रभावकारी रूपमा रोक्न सफल भएको देखिएको छ । गत वर्ष गरिएको परीक्षणमा दुई प्रकारका गन्धले चितुवालाई, दुईले बाघलाई तथा एउटाले दुवै प्रजातिलाई रोक्न सफल भएको थियो । हाल थप चारदेखि पाँच प्रकारका गन्धमा परीक्षण भइरहेको छ ।
तराईका विभिन्न जिल्लामा पछिल्ला वर्षहरूमा बाघ, चितुवा तथा जङ्गली जनावरको बस्ती प्रवेशका घटना बढ्दै जाँदा मानवीय क्षति र त्राससमेत बढेको छ । यस्तो अवस्थामा वैज्ञानिक आधारमा यो विकसित प्रविधिको प्रयोगले द्वन्द्व न्यूनीकरणमा विश्व वन्यजन्तु कोषअन्तर्गत सञ्चालन भइरहेको तराई भूपरिधि तथा संरक्षण कार्यक्रम नेपाल र भारतका तराई क्षेत्रलाई समेट्ने दीर्घकालीन पहल हो ।
बर्दिया राष्ट्रिय निकुञ्जभित्र वन्यजन्तुको बासस्थान सुधारका लागि सिमसार क्षेत्र निर्माण तथा घाँसेमैदान व्यवस्थापन, पानीको अभाव हुने क्षेत्रमा वन्यजन्तुलाई पिउने पानीको सहज उपलब्धताका लागि सौर्य ऊर्जामा आधारित पम्प जडान तथा अवैध गतिविधि नियन्त्रण तथा निगरानी सुदृढ गर्न स्पाइक क्यामेरा जडान गरिएको छ ।































