‘फ्युचरप्रेन्योर २०२६’: प्रिमियरका विद्यार्थीहरूको स्टार्टअपमा लगानीकर्ताको आँखा

‘फ्युचरप्रेन्योर २०२६’: प्रिमियरका विद्यार्थीहरूको स्टार्टअपमा लगानीकर्ताको आँखा

केन्द्रबिन्दु
63
Shares

काठमाडौं । प्रिमियर इन्टरनेशनल आईबी कन्टिनम स्कूलका विद्यार्थीहरूले आफ्नो उद्यमशीलताको जादु देखाउँदै व्यावसायिक जगतका दिग्गजहरूलाई प्रभावित पारेका छन्। विद्यालयको वार्षिक उद्यमशीलता मेला ‘फ्युचरप्रेन्योर: पुटिङ नेपाल अन द ग्लोबल म्याप’ मा ११ कक्षाका विद्यार्थीहरूले प्रस्तुत गरेका नवप्रवर्तनात्मक व्यवसायहरूले केवल प्रशंसा मात्रै पाएनन्, प्रत्यक्ष लगानी र रोजगारीको प्रस्ताव समेत प्राप्त गरेका छन्।

यस वर्षको संस्करणमा विद्यार्थीहरूले स्थानीय नेपाली कच्चा पदार्थमा आधारित ६ वटा फरक व्यावसायिक अवधारणा प्रस्तुत गरेका थिए। जसमा प्राकृतिक लामखुट्टे भगाउने मिस्ट, गहुँको फुरनदानाबाट बनेको स्वस्थ खाजा, भेगन दुग्धजन्य विकल्प, ढाका फेसन, नेपालका सातै प्रदेशको स्वाद समेटिएको अचार र दिगो काठका सामग्रीहरू समावेश थिए।

कार्यक्रमको निर्णायक मण्डलमा ‘कार-मा कफी’ की संस्थापक बिर्जित लिनहार्ट, ‘अविर’ की संस्थापक तथा शार्क ट्याङ्क नेपालकी सहभागी विनी बज्राचार्य र ‘अवनी एडभरटाइजिङ’ का संस्थापक जितेन्द्र रञ्जित रहेका थिए। निर्णायकहरूले विद्यार्थीहरूको व्यावसायिक सुझबुझ र प्रस्तुति शैली देखेर आश्चर्य प्रकट गरे।

प्रतियोगितामा ‘ढाकाकौचर’ले उत्कृष्ट पिचको उपाधि जित्यो। उक्त ढाका उद्यम र प्राकृतिक लामखुट्टे भगाउने मिस्टमा निर्णायकहरूले प्रत्यक्ष लगानी गर्ने इच्छा देखाएका छन्। त्यसैगरी, विद्यार्थीहरूले विकास गरेको ‘भेगन डेयरी’ उत्पादनलाई ‘कार-मा कफी’ ले आफ्नो स्टोरका लागि खरिद गर्ने सम्झौतामा चासो देखाएको छ, जुन विद्यालय तहका विद्यार्थीका लागि ठूलो उपलब्धि मानिएको छ।

निर्णायक जितेन्द्र रञ्जितले विद्यार्थीहरूको क्षमताको प्रशंसा गर्दै भने, “कक्षा ११ मै तपाईंहरू एमबीए स्नातक तहको जस्तो सोच राख्नुहुन्छ। विद्यालय सकिनेबित्तिकै तपाईंहरूलाई मेरो कम्पनीमा काममा राख्न म तयार छु।”

प्रिमियर इन्टरनेशनलको आईबी फ्रेमवर्कले विद्यार्थीहरूलाई केवल किताबी ज्ञानमा मात्र सीमित नराखी बजार अनुसन्धान, उत्पादन विकास र लगानीकर्तासँगको संवाद जस्ता वास्तविक संसारका चुनौतीहरूका लागि तयार पारिरहेको छ।

विद्यालयका अनुसार ‘फ्युचरप्रेन्योर’ जस्ता कार्यक्रमले विद्यार्थीहरूमा आलोचनात्मक सोच, सृजनशीलता र व्यावसायिक आत्मविश्वास भर्न मद्दत पुर्‍याउँछ। स्थानीय उत्पादनलाई विश्वव्यापी मञ्चमा पुर्‍याउने लक्ष्यका साथ आयोजित यो मेलाले नेपाली युवाहरूमा रहेको प्रचुर सम्भावनालाई उजागर गरेको छ।

Logo