विद्यार्थीले राजनीति गुरुबाट सिकून् नेताबाट होइन, कर्मचारीले विधि खोजून नेताको छहारी होइन: प्रधानमन्त्री शाह

विद्यार्थीले राजनीति गुरुबाट सिकून् नेताबाट होइन, कर्मचारीले विधि खोजून नेताको छहारी होइन: प्रधानमन्त्री शाह

केन्द्रबिन्दु
60
Shares

काठमाण्डौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले विद्यार्थी संगठन र कर्मचारी ट्रेड युनियन खारेज कुनै पनि पार्टीविरूद्धको लडाइँ नभएको बताएका छन् ।

विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने तथा कर्मचारको ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णयबारे प्रतिक्रिया दिँदै प्रधानमन्त्री शाहले यस्तो बताएका हुन् ।

‘हाम्रो प्रयास यति मात्र हो, विद्यार्थीले राजनीति सिक्दा गुरुबाट सिकून्, नेताको भिडबाट होइन । कर्मचारीले विधि खोजून्, नेताको छहारी होइन’, प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामी चाहन्छौँ विद्यार्थीले राजनीति सिकून् तर सभ्यता, विचार र जिम्मेवारीको राजनीति, कर्मचारीले जनताको सेवा सिकून्, कुनै दलको होइन ।’

उनले थपलेख्दै भनेका छन् “विद्यार्थी र कर्मचारीतन्त्रलाई दलको स्लिपर सेल बनाइयो । योग्यता भन्दा पहुँच, क्षमता भन्दा झोला र झण्डाको मूल्य बढाइयो । यसले प्रणालीप्रति नै जनताको विश्वास कमजोर बनायो ।”
राष्ट्रिय स्वतन्त्र पार्टीले ठूला विद्यार्थी र कर्मचारी संगठन बनाउन नसकेर यो कदम चालेको होइन भन्दै बालेनले स्पष्ट पारेका छन् । “चाहने हो भने आजकै दिनमा ठूला संगठन बनाउन सक्छौं,” उनले भने, “तर अर्को दलगत संगठन थप्दैमा न शिक्षाको गुणस्तर बढ्छ, न कर्मचारीको सम्मान जोगिन्छ । विगतले यो प्रमाणित गरिसकेको छ ।”प्रधानमन्त्री बालेनले सरकारले ल्याएको अध्यादेशको पक्षमा तर्क दिँदै लेखेका छन् ।
“शिक्षालयमा दलको झण्डा निषेध । कर्मचारीतन्त्रमा दलको झोला निषेध । यसले अधिकार खोस्दैन, बरु पेशागत स्वतन्त्रता बलियो बनाउँछ । अब नियुक्ति, सरुवा र बढुवाको आधार दलगत निकटता होइन, विधि, क्षमता र दक्षता हुनुपर्छ ।”
उनले विद्यार्थीले राजनीति सिक्नुपर्ने तर त्यो नेताको भीडबाट होइन, गुरुबाट सिक्नुपर्ने र कर्मचारीले जनताको सेवा सिक्नुपर्ने, कुनै दलको होइन भन्ने धारणा राखे । “यो देशलाई दलगत कब्जाबाट निकालेर संस्थागत मार्गमा ल्याउने प्रयास हो,” प्रधानमन्त्रीले भनेका छन् ।

Logo