देउवा दम्पतीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलले माग्यो थप प्रमाण

देउवा दम्पतीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलले माग्यो थप प्रमाण

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वपरराष्ट्र मन्त्री डा.आरजु राणा देउवाविरुद्ध रेड नोटिस जारीका लागि इन्टरपोलले थप कागजात माग गरेको छ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार इन्टरपोलले थप कागजातको विवरण एनसीबी (नेसनल सेन्ट्रल ब्यूरो) काठमाडौंसँग माग गरेको हो। काठमाडौं जिल्ला अदालतले २०८२ चैत २४ गते उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि नेपाल प्रहरीको इन्टरपोल शाखा (एनसीबी) मार्फत रेड नोटिस जारी गर्ने प्रक्रिया अघि बढाइएको थियो । नेपाल प्रहरी प्रधान कार्यालय स्रोत अनुसार एनसीबीले औपचारिक रूपमा इन्टरपोललाई पत्र पठाएको थियो ।

यस्तोमा इन्टरपोलले आरोपको स्पष्टता, अनुसन्धानको चरण, प्रमाणहरू र कानुनी आधार हेर्न थप कागजात मागेको हो । केही रिपोर्टहरूले भने इन्टरपोलले ‘अपराध स्थापित नभएको’ र ‘एक चरणमा अनुसन्धान सुरु भएको’ भन्दै कानुनी थ्रेसहोल्ड पूरा नभएको बताएको छ ।

अघिल्लो वर्षको भदौ २३–२४ गते ‘जेनजी आन्दोलन’ को क्रममा देउवाको बूढानीलकण्ठस्थित निवासमा आगजनी हुँदा जलेका नोटहरू फेला परेको भिडियो सार्वजनिक भएको थियो, जसले नेपाली कांग्रेस र पूर्वसभापति दम्पतिविरुद्ध ठूलो विवाद निम्त्याएको थियो।

त्यसको केही दिनपछि नै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुचुल्का उठाएर अनुसन्धान थाल्यो । विभागले देउवा परिवारको चल–अचल सम्पत्ति रोक्का ग¥यो र उनीहरूसँग सम्बन्धित नातेदारहरूको कारोबार पनि छानबिनमा ल्याएको थियो।

तर देउवा दम्पती १४ फागुन २०८२ मा उपचारका लागि सिंगापुर गएका थिए । त्यहाँबाट २१ चैतमा हङकङ पुगेको रिपोर्ट छ । अहिलेसम्म उनीहरू नेपाल फर्किएका छैनन् । स्रोतहरूका अनुसार उनीहरू हाल हङकङमै रहेका छन् ।

देउवाले पक्राउ पुर्जीपछि सामाजिक सञ्जालमा वक्तव्य जारी गर्दै आरोपहरूलाई ‘भ्रामक र झुटा’ भनेका थिए । उनले आफ्नो जीवन ‘खुला किताब’ रहेको, सार्वजनिक पदमा रहँदा सम्पत्ति विवरण सरकारलाई बुझाएको र भ्रष्टाचारविरुद्ध कानुन ल्याउन आफूले भूमिका खेलेको उल्लेख गरेका थिए ।

यो मुद्दा देउवा परिवारमा मात्र सीमित छैन । आरजु राणा देउवामाथि नक्कली भुटानी शरणार्थी प्रकरण र नेपाल टेलिकम सम्बन्धी विवादमा पनि आरोप लागेको थियो । देउवाका नातेदार प्रदीप शमशेर जबरा, भूषण राणा, जयवीर देउवालगायतका कारोबार पनि छानबिनमा छन् ।

Skip This
Skip This
Logo