काठमाडौं । काठमाडौं जिल्ला अदालतले नेकपा (एमाले) का सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेत (भण्डारी) सहित १० जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
न्यायाधीश महेन्द्रबहादुर कार्कीको एकल इजलासले बिहीबार अम्बिका बस्नेत र शर्मिला बस्नेतलाई ५० हजार रुपैयाँ तथा बाँकी ८ जनालाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न निर्देशन दिएको हो । उनीहरू सबै प्रहरी हिरासतबाटै अदालत उपस्थित भएका थिए ।
धरौटीमा रिहा हुने अन्य व्यक्तिहरूमा गीता पण्डित, प्रगति थापा, सोनु बराल, जानुका बस्नेत, रेखा न्यौपाने, सबिना केसी, कमला बस्नेत र निता खत्री रहेका छन् ।
यो मुद्दा काठमाडौंको माइतीघर मण्डलामा वैशाख १४ गते (सोमबार) भएको झडपसँग जोडिएको छ । शोभा भनिने जानुका पाठक अनशनरत थिइन् । उनी महेश बस्नेतविरुद्ध लामो समयदेखि विभिन्न आरोप लगाउँदै आएकी थिइन् र हालै सुधन गुरुङलाई गृहमन्त्रीमा पुनः नियुक्तिको माग गर्दै प्रदर्शन गरिरहेकी थिइन् ।
अम्बिका बस्नेत आफ्नो समूहसहित त्यहाँ पुगिन् र झडप भयो । शोभा पाठकले दाबी गरेअनुसार उनीमाथि कुटपिट भयो, सुनको सिक्री लुटिएको थियो र ज्यानै मार्ने प्रयास गरिएको थियो । शोभा पाठक घाइते भएर बिर अस्पताल भर्ना समेत भएकी थिइन् ।
प्रहरीले अम्बिका बस्नेतसहित १० जनालाई पक्राउ गरी अनुसन्धान गरेको थियो । प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा चलाउन सिफारिस गर्दै सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो ।
अम्बिका बस्नेतसहित १० जनाको धरौटीमा रिहाइले तत्कालको संकट टारेको छ, तर मुद्दाको अन्तिम टुंगो लाग्न बाँकी छ । शोभा पाठकको जाहेरी र प्रहरी अनुसन्धानले कस्तो प्रमाण पेश गर्छन्, अदालतले कसरी फैसला गर्छ भन्नेले धेरै कुरा निर्धारण गर्नेछ ।































प्रतिक्रिया