रुकुमपूर्व । रुकुमपूर्वको सिस्ने गाउँपालिका-५ र ६ अन्तर्गत पर्ने कैचिमोड, कमलदहलगायतका क्षेत्रमा मध्यपहाडी राजमार्ग क्षेत्र मिचेर बनाइएका संरचना भत्काउन डोजर चलाईएको छ ।
पटक-पटक सूचना, आग्रह र समयसीमा दिंदा पनि अटेरी गरेपछि गाउँपालिकाले कडा सुरक्षा व्यवस्थाबीच संरचना हटाउन सुरु गरेको हो । घरटहरा, व्यावसायिक संरचना तथा अस्थायी निर्माण हटाउन गाउँपालिकाले यसअघि नै सार्वजनिक सूचना जारी गरेको थियो । तर, केही व्यक्तिले सरकारी निर्देशनलाई बेवास्ता गर्दै संरचना यथावत राखेपछि स्थानीय प्रशासन डोजर चलाएको हो ।
सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले सरकारी जग्गा अतिक्रमण गरेर बसेकालाई सम्झायौं, समय दियौं, सूचना पनि जारी गर्यौं, तर अटेरी भएपछि कानुन कार्यान्वयन गर्दै भत्काउन थालेको बताए ।
डोजर चलाइएका क्षेत्रमा सुरक्षाकर्मीसमेत परिचालन गरिएको छ। गाउँपालिकाले अब पनि राजमार्ग क्षेत्र मिचेर बनाइएका संरचना नरोकिए थप कडा कारबाही गरिने चेतावनी दिएको छ।































