तामिलनाडुः विजयलाई मुख्यमन्त्री नियुक्त गर्न किन भयो आनाकानी ?

तामिलनाडुः विजयलाई मुख्यमन्त्री नियुक्त गर्न किन भयो आनाकानी ?

केन्द्रबिन्दु
252
Shares

काठमाडाैं । भारतको तामिलनाडु विधानसभा चुनावपछिको राजनीतिक परिदृश्य अहिले कुनै फिल्मी ‘थ्रिलर’ भन्दा कम देखिएको छैन। शुक्रबार दिनभरि चलेको उच्च राजनीतिक रस्साकस्सीका बीच अभिनेताबाट नेता बनेका विजय मुख्यमन्त्री पदको निकै नजिक पुगेर पनि बहुमतको जादुयी संख्या जुटाउन संघर्ष गरिरहेका छन्। कुनै समय उनी सहजै सत्तामा पुग्ने देखिए पनि अन्तिम समयमा गठबन्धन भित्रको किचलो र समर्थन फिर्ताका खबरले माहोल फेरि अनिश्चित बनेको हाे ।

२३४ सदस्यीय तामिलनाडु विधानसभामा बहुमतका लागि ११८ सिट आवश्यक पर्छ। विजयको पार्टी ‘तमिलगा वेत्री कझगम’ (टिविके) १०८ सिटसहित सबैभन्दा ठूलो दल बनेको छ। यद्यपि, विजय आफैँले दुई क्षेत्रबाट चुनाव जितेकाले एउटा सिट रिक्त हुनेछ, जसका कारण उनको दलको प्रभावकारी संख्या १०७ मा झरेको छ।

शुक्रबार विजयले कंग्रेसकाे ५ सिट, सीपीआईकाे २ सिट र सीपीआईएमकाे २ सिटको समर्थन जुटाएपछि उनको पक्षमा ११६ सांसद पुगेका थिए। तर, बहुमतका लागि अझै दुई सिटको अभाव देखिएको छ । विजयले राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरलाई भेटेर सरकार बनाउने दाबी पेश गरे पनि हस्ताक्षर बुझाउँदा ११६ जनाको मात्रै विवरण दिएपछि शपथ ग्रहण प्रक्रियामा ब्रेक लागेको छ।

राजभवनबाट जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “टीभीके नेता विजयले राज्यपाललाई भेटेका छन् । यस भेटघाटमा राज्यपालले स्पष्ट पारे कि सरकार गठन गर्न तमिलनाडु विधानसभामा आवश्यक बहुमतको समर्थन अझै प्राप्त भएको छैन ।”

‘बार्गेनिङ’काे राजनीति

तामिलनाडुको यो राजनीतिक नाटकमा ‘विडुथलाई चिरुथाइगल कच्ची’ निर्णायक शक्तिका रूपमा देखिएको छ। सुरुमा विजयलाई समर्थन गर्ने संकेत दिएको भिसिकेले शुक्रबार साँझसम्म आफ्नो आधिकारिक अडान स्पष्ट पारेन। स्रोतका अनुसार भिसिकेले समर्थनको बदलामा थोल थिरुमावलवनका लागि उप-मुख्यमन्त्री पदको माग गरेको छ, जबकि विजयको पार्टी ‘शहरी विकास’ मन्त्रालय मात्र दिन तयार देखिएको छ।

यसैबीच, राज्यमा ‘रिसोर्ट राजनीति’ र विधायक किनबेचको डर पनि बढेको छ। कंग्रेसका चार विधायकहरू हैदरावादतर्फ लागेको खबर सार्वजनिक भएको छ भने एएमएमकेका नेता टीटीभी दिनकरनले आफ्ना विधायक कामराज ‘बेपत्ता’ भएको र टिभिकेले उनको कीर्ते हस्ताक्षर प्रयोग गरेको आरोप लगाएका छन्। राज्यपालले प्रहरीलाई ती विधायकको खोजी गर्न निर्देशन दिएका छन्।

विजयलाई रोक्नका लागि पुराना प्रतिद्वन्द्वी डिएमके र एआईएडिएमकेबीच पनि पर्दा पछाडि संवाद भइरहेको चर्चा छ। सीपीआईएमका महासचिव एमए बेबीले दाबी गरेअनुसार, डिएमके ले विजयलाई सत्ताबाट टाढा राख्न एआईएडिएमकेको सरकारलाई बाहिरबाट समर्थन गर्ने विषयमा समेत छलफल चलाएको थियो। यद्यपि, वामपन्थी दलहरूले भने जनादेशको सम्मान गर्दै ठूलो दललाई नै मौका दिनुपर्ने अडान राखेका छन्।

शुक्रबार रातभर चलेको राजनीतिक खिचातानी र ‘पावर सेयरिङ’ को विवादले तामिलनाडुमा कसको सरकार बन्छ भन्ने कुरा अझै अन्योलमै छ। भिसिकेले शनिबार बिहान मात्र आफ्नो आधिकारिक निर्णय सार्वजनिक गर्ने बताएको छ। यदि भिसिकेले समर्थन दिएमा विजय मुख्यमन्त्री बन्ने बाटो खुल्नेछ, अन्यथा तामिलनाडुमा फेरि नयाँ समीकरण वा राजनीतिक अस्थिरताको अर्को अध्याय सुरु हुने निश्चित छ।

Logo