कसरी हुँदैछ बाम गठबन्धनमा भागबन्डा ? (यस्तो छ तयारी)

कसरी हुँदैछ बाम गठबन्धनमा भागबन्डा ? (यस्तो छ तयारी)

केन्द्रबिन्दु
0
Shares

एकराज धनञ्जय/काठमाडौं, २० पुस ।

एमाले र माओवादी केन्द्रले दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि क्षेत्र बाँडफाँट गरे । र, सोचे अनुसारकै नतिजा समेत हात पारे । निर्वाचन अगाडि ६०÷४० को भागवान्डामा निर्वाचन लडेका वाम गठबन्धनको निर्वाचन परिणाम भने ७०÷३० को रेसियोमा आई पुगेको छ । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १ सय ६५ स्थान मध्ये एमालेले एक्लै ८० स्थानमा जीत हात पारेको छ । उसका २४ जना उम्म्ेदवारहरु मात्र पराजित भएका थिए भने माओवादीका ३७ जना उम्मेदवारहरु विजयी भए भने २३ जना पराजीत भए । विजयी भएका मध्ये २ जना सूर्य चिन्ह मात्र लिएका हुन् ।

निर्वाचन सकिए लगतैवाट शुरु भएको वाम पार्टीहरु वीचको पार्टी एकताको कुराले कुनै ठोस निर्णय लिन सकिरहेको छैन । यो विषय झन विवादमा तानिन थालेको छ । कार्यक्रमै पिछे नेताहरुको फरक फरक अभिब्यक्तिहरु आउन थालेका छन ।

निर्वाचन परिणाम पछी प्रधानमन्त्रीका एक्ला दावेदारका रुपमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओली रहेका थिए । तर, अहिले परिस्थिति बेग्लै हुँदै गएको छ । पार्टी भित्रैवाट अध्यक्ष प्रधामन्त्री र संसदीय दलको नेता एकै व्यक्ति हुनु पर्ने अभिब्यक्ति एमाले महासचिव ईश्वर पोखरेले दिए पछि यसले दुई पार्टी भित्र सनसनी नै मच्चायो । पदीय बाँडफाडको सवाललाई लिएर नेता पिच्छे फरक–फरक धाराण आईरहँदा समेत दुवै पार्टीले आफ्नो आधिकारिक धारण सार्वजनिक गर्न सकेका छैनन् ।

मुख्य नेताहरुको ब्यवस्थापन चुनौती

आसन्न बाम सरकारको प्रधानमन्त्री एमाले अध्यक्ष केपी ओली बन्ने करिब सहमति भए पनि पार्टी एकतापछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधव नेपाल लगायत नेताको व्यवस्थापनका विषयमा गठबन्धनले ठोस निर्णय लिन सकेको छैन ।

दुई पार्टीको एकता गर्नको लागी तयार भएको ‘पार्टी एकता संयोजन समिति’ निर्माणगर्दा देखिनै पदीय भागबन्डामा विवाद शुरु भएको थियो । दोस्रो वरीयतामा रहेका तर प्रभावशाली नेताहरूको व्यवस्थापनमा पनि उत्तिकै चुनौती देखिन्छ । एमालेका वामदेव गौतम, ईश्वर पोखरेल, सुवास नेम्बाङ्ग र माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, रामवहादुर थापा बादल, कृष्णबहादुर महरा लगाएतका नेताहरुको ब्यवस्थापन पार्टी एकतासंगै थप चुनौती बन्दै गएको छ ।

निर्वाचनमा पराजित गौतम र श्रेष्ठलाई कसरी व्यवस्थापन गर्ने चुनौती सबैभन्दा ठुलो रहेको छ भने निर्वाचन नलडेका नेता राम वहादुर थापालाई भने राष्ट्रिय सभाको नेतृत्व दिन सकिने विकल्पमा समेत कुरा भइरहेको स्रोतको दाबी छ । तर, गौतम र श्रेष्ठले भने पुनः राष्ट्रिय सभामा सांसद बन्ने आकांक्षा देखाएका छैनन् ।

यस्तो छ भागवन्डा

एकीकृत पार्टीमा लाभका पद पाउने अवसरहरु थुप्रै रहेका भए पनि नेताहरुको पद लोभ ठुलो समस्या बन्ने प्रष्ट देखिन्छ । प्रधानमन्त्रीमा पार्टी अध्यक्ष केपी शर्मा ओली भएको खण्डमा एकीकृत पार्टीको अध्यक्ष प्रचण्डले दावी गर्न थालेका छन । भागबन्डाका हिसावले प्रधानमन्त्री र पार्टी अध्यक्ष फरक फरक पार्टीको प्रतिनिधित्व भए पछि राष्ट्रपती, उपराष्ट्रपती, सभामुख लगायतका पदहरुमा पनि भागवन्ड हुने निश्चित छ । पार्टी एकतापछि अध्यक्ष पद माओवादीलाई छाड्नुपरेमा भने राष्ट्रपति, प्रधानमन्त्री र सभामुखमा एमालेले आफ्नो दाबी नछाड्ने देखिन्छ ।

यस्तो अवस्थामा एमालेवाट राष्ट्रपतिमा पूर्व प्रधानमन्त्री झलनाथ खनालको नाम चार्चामा छ । बरिष्ठ नेता माधव नेपालले भने आफु सक्रिय राजनीतिमै रहने मनसाय गरेका छन । त्यसैगरी एमालेले राष्ट्रपतिमा सुभाष नेम्बाङ्गलाई अघि सार्ने सम्भावना रहेको पनि स्रोतको दावी रहेको छ । सँगसँगै एमालेबृतमा अहिलेकै राष्ट्रपति विद्या भण्डारीलाई दोहोर्याएर जाने की भन्ने विषयले पनि प्रवेश पाएको छ ।

प्रधानमन्त्री र अध्यक्षमध्ये एक माओवादीलाई ?

माओवादी अध्यक्ष प्रचण्डले एमालेलाई प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक रोज्न प्रस्ताव गरेका छन् । यो विषयमा एमालेबाट कुनै प्रतिक्रिया आएको छैन । प्रचण्डले दुईमध्ये एक पद माओवादीले पाउनुपर्ने प्रस्ताव एमाले अध्यक्षलाई गरेको मंगलवार वसेको पार्टी केन्द्रीय कार्यलयको बैठकमा जानकारी गराएको स्रोत बताउँछ ।
बिकल्प

पार्टी एकता र सरकार गठन दुबैमा भागवण्डा नगरी मिल्ने अवस्था नहुने भए पछि गठबन्धनमा अनेक किसिमका प्रस्तावहरुमा छलफल हुन थालेको बुझिएको छ । दुई अध्यक्ष सम्मिलित अध्यक्षमण्डल बनाएर अन्य विभाजनमा केन्द्रीय हेडक्वाटर बनाएर जाने एउटा मोडेलमा छलफल भइरहेको माओवादी केन्द्रका एक पोलिटब्यूरो सदस्य बताउँछन् ।

अर्कोे विकल्पका रूपमा दुवै पार्टीका सबै कमिटी भंग गरेर महाधिवेशन आयोजक समिति तय गरेर जाने विषयमा छलफल भइरहेको छ । माओवादी केन्द्रले सरकारको नेतृत्व एमालेले लिए पार्टी संयोजक आफ्नो भागमा हुने पर्ने दावी गरेको छ । यस बिकल्पलाई एमाले नेताहरुले समेत सकारात्मक रुपमा लिएको विश्लेषण भइरहेको छ ।
त्यसैगरी समाधानको रुपमा एकथरीले अध्यक्षसहित पदाधिकारी तोकेरै आगामी महाधिवेशनसम्म जाने जस्तो – एक जना अध्यक्ष, तीन जना उपाध्यक्ष, दुई जना महासचिव र सात जना सचिवहरु दुवै पार्टीको तर्फवाट समावेश गर्नुपर्ने सल्लाह पार्टी ‘हाइकमाण्ड’लाई दिएका छन् ।

यस्तो अवस्थामा माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठलाई वरिष्ठ नेता मान्ने, तीन उपाध्यक्षमा दुई एमाले र एक माओवादी केन्द्रबाट, दुई महासचिवमा दुवै पार्टीका एक–एक जना राख्ने, सात सचिवमा एमालेका तर्फबाट चार वा पाँच र माओवादीबाट दुई वा तीन जना हुन सक्ने गरी मिलन बिन्दुको खोजी भईरहेको पनि बुझिन्छ ।

साथै पार्टी र सरकामा एकै ब्यक्तिलाई दोहोरो जिम्मेवारी नदिने हो भने भागबण्डा मिलाउन सजिलो पर्ने सुत्र पनि फेला परेको छ । सरकारमा मन्त्रीको रूपमा प्रतिनिधित्व गर्नेहरुलाई पार्टीको जिम्मेवारी नदिने हो भने एकीकरण र भागवन्डा सहज हुने दखिन्छ ।

Skip This
Skip This
Logo