सिरहा । सिरहाको लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा उद्घाटन गरिएको ‘सिटी स्क्यान’ सेवा जनशक्ति अभावका कारण सञ्चालन हुन सकेको छैन । यही वैशाख २१ गते उद्घाटन गरिए पनि दक्ष प्राविधिक नहुँदा सेवा सञ्चालन हुन नसकेको हो ।
अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष रामनारायण मेहताले मेसिन भएर पनि सेवा दिन नसक्दा जनमानसमा गलत सन्देश गएकाले जनशक्ति व्यवस्थापनका लागि सरकारले सहयोग गर्नुपर्ने बताए।
“आमनागरिकले सस्तो र सुलभ मूल्यमा विशेषज्ञ सेवा पाऊन् भन्ने पवित्र उद्देश्यले धेरै पहल गरेर मेसिन त ल्यायौँ, तर सञ्चालन गर्ने प्राविधिक जनशक्ति नहुँदा अप्ठेरोमा परेका छौँ”, उनले भने ।
अस्पताल प्रशासनका अनुसार यो सेवा पूर्ण रूपमा सञ्चालन गर्न कम्तीमा एक जना रेडियोलोजिस्ट, एक जना रेडियोलोजिस्ट र अर्को एक जना सहयोगी गरी तीन जना कर्मचारीको तत्काल आवश्यकता छ । अस्पताल प्रमुख डा वर्षा प्रकाशले जनशक्ति व्यवस्थापनका लागि प्रदेश सरकारको विषयगत मन्त्रालयमा पहल भइरहेको बताए । यस विषयका दक्ष जनशक्ति रेडियोलोजिस्ट प्रदेशभरि नै अभाव रहेकाले मन्त्रालयले कहिलेसम्म कर्मचारी पठाउँछ भन्ने टुङ्गो लाग्न सकेको छैन ।
मधेस प्रदेशमा कर्मचारी समायोजनबाट आएका वरिष्ठ रेडियोलोजिस्ट डा. बृजेन्द्रकुमार साह यसअघि यही अस्पतालमा निमित्त मेसुका रूपमा कार्यरत थिए । प्रदेश सरकारले डा साहकै विज्ञतालाई हेरेर लहानमा सिटी स्क्यान मेसिन पठाएको थियो । तर गत माघ २ गते मन्त्रालयले डा साहलाई सर्लाहीको मलङ्गवास्थित प्रादेशिक अस्पतालमा सरुवा गरेपछि समस्या भएको जानकारहरू बताउँछन् ।
यहाँ मधेस प्रदेशका तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहको कार्यकालमा आर्थिक वर्ष २०८१/८२ मा १२ करोड लागतमा दुई वटा सिटी स्क्यान मेसिन खरिद गरिएको थियो । तीमध्ये एउटा मेसिन जनकपुरस्थित मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान र अर्को लहान अस्पतालमा पठाइएको छ ।































प्रतिक्रिया