काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले संसदीय लोकतन्त्रमा संसदको गरिमा र महत्व उच्च हुने भन्दै प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्ने बताएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले संसदीय अभ्यास गरिरहेका मुलुकहरूमा जनप्रतिनिधिमूलक संस्था संसदलाई सर्वोच्च राजनीतिक थलोका रूपमा लिइने उल्लेख गरेका छन्। संसदले नै प्रधानमन्त्री चयन गर्ने संवैधानिक व्यवस्था भएकाले प्रधानमन्त्री संसद र जनताप्रति समान रूपमा उत्तरदायी हुनुपर्ने उनको भनाइ छ।
भट्टराईले नेपालमा प्रधानमन्त्रीय शासन प्रणाली अभ्यासमा रहेको उल्लेख गर्दै राष्ट्रपतिबाट वाचन हुने नीति तथा कार्यक्रम सरकारको भए पनि त्यसको सार प्रधानमन्त्रीकै अवधारणा हुने बताएका छन्। नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको चित्तबुझ्दो जवाफ प्रधानमन्त्री स्वयंले दिनुपर्ने उल्लेका छन् ।
उनले प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनु भनेको संसदमा उपस्थित हुने, छलफलमा उठेका प्रश्नको स्पष्ट जवाफ दिने तथा संसदका निर्णय र निर्देशन कार्यान्वयन गर्ने दायित्व भएको उल्लेख गरेका छन्। तर, वर्तमान प्रधानमन्त्री संवैधानिक तथा पदीय जिम्मेवारीबाट पन्छिन खोजिरहेको आरोप पनि उनले लगाएका छन्।
भट्टराईले संसदीय अभ्यास भएका मुलुकहरूमा प्रधानमन्त्रीले विशेष सम्बोधन, महत्वपूर्ण घोषणा, राष्ट्रिय घटनाक्रम तथा औपचारिक विदेश भ्रमणबारे संसदमार्फत जानकारी दिने परम्परा रहेको उल्लेख गरेका छन्। संसदको रोस्ट्रममा उभिएर बोल्नुलाई प्रधानमन्त्रीले गौरवको विषय मान्ने अभ्यास विश्वभर रहेको उनको भनाइ छ।
उनले प्रक्रिया मिचेर वा छलछाम गरेर अघि बढ्ने प्रवृत्ति लोकतान्त्रिक अभ्यासअनुकूल हुन नसक्ने टिप्पणी समेत गरेका छन् ।





























प्रतिक्रिया