काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड (एससीबीएनएल) का भारत तथा दक्षिण एशिया प्रमुख कार्यकारी अधिकृत (सिइओ) पी.डी. सिंहले नेपालको औपचारिक भ्रमण पूरा गरेका छन् ।
यही साउन ३ देखि ५ गतेसम्म भएको तीन दिने भ्रमणका क्रममा सिइओ सिंहले नेपालको आर्थिक विकास, लगानीका अवसर र दिगो वृद्धिमा सहकार्यका सम्भावनाबारे प्रमुख सरोकारवालाहरूसँग छलफल गरे ।
भ्रमणका क्रममा सिइओ सिंहले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणकर भट्ट तथा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डितलगायत वरिष्ठ सरकारी तथा नियामक निकायका नेतृत्वहरूसँग छुट्टाछुट्टै भेटघाट गरे । उच्चस्तरीय भेटहरूमा बैंकको अन्तर्राष्ट्रिय सञ्जाल र वित्तीय विशेषज्ञतामार्फत नेपालको प्राथमिकताका क्षेत्रहरूमा कसरी योगदान पुर्याउन सकिन्छ भन्ने विषयमा विचार-विमर्श भएको थियो।
भ्रमणकै अवसरमा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले आफ्ना व्यावसायिक साझेदार, बैंक तथा वित्तीय संस्थाका प्रमुखहरू र बहुपक्षीय निकायका प्रतिनिधिहरूको सम्मानमा एक नेटवर्किङ कार्यक्रमको समेत आयोजना गरेको थियो।
उक्त कार्यक्रममा बोल्दै सिइओ सिंहले दक्षिण एशियाली अर्थतन्त्रलाई विश्वव्यापी बजारसँग जोड्न स्ट्यान्डर्ड चार्टर्ड बलियो स्थितिमा रहेको बताए। “हाम्रो क्रस-बोर्डर वित्तीय कारोबार, ऋण प्रवाह, परामर्श सेवा र अनुकूलित व्यावसायिक समाधानका कारण नेपालजस्ता बजारका ग्राहकहरूले तीव्र वृद्धि हासिल गर्न सकेका छन्, जसले समग्र देशको आर्थिक विकासलाई थप टेवा पुर्याउँछ,” उनले भने ।
सन् १९८७ मा संयुक्त उपक्रम (जोइन्ट भेन्चर) का रूपमा स्थापना भएको स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालमा लामो समयदेखि क्रियाशील वैदेशिक लगानीको अग्रणी बैंक हो।































