पाँचथर जिल्लाका ६ वटा विद्यालयको (एसइई) नतिजा शून्य

पाँचथर जिल्लाका ६ वटा विद्यालयको (एसइई) नतिजा शून्य

केन्द्रबिन्दु
36
Shares

पाँचथर । पाँचथर जिल्लामा हालै सार्वजनिक माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजाले शैक्षिक अवस्थाको मिश्रित चित्र प्रस्तुत गरेको छ। जिल्लाका ६ वटा विद्यालयबाट परीक्षामा सहभागी कुनै पनि विद्यार्थी ‘ग्रेडेड’ हुन नसकी शून्य नतिजा आएको छ भने समग्र जिल्लाको उत्तीर्ण प्रतिशत ४९ प्रतिशतमा सीमित भएको छ।

शून्य नतिजा आउने विद्यालयहरूमा कालिका मावि साम्दिन, सारताप मनरत्न मावि, खान्द्रोङ मावि, चन्द्रोदय मावि, माउण्ट कञ्चन बोर्डिङ स्कुल र सरस्वती मावि ताङलेपा रहेका छन्। ती विद्यालयबाट ४ देखि २६ जनासम्म विद्यार्थी सहभागी भए पनि सबै अनुत्तीर्ण भएका हुन्।

शिक्षा विकास तथा समन्वय इकाइ पाँचथरका अनुसार जिल्लामा नियमित साधारणतर्फ २,०९९ जना विद्यार्थी परीक्षामा सहभागी भएकामा १,०३४ जना मात्र ग्रेडेड भएका छन्। प्राविधिक धारतर्फ १२२ जना सहभागी भएकामा ६२ जना ग्रेडेड भएका छन्।

स्थानीय तहगत नतिजामा भने केही सुधार देखिएको छ। तुम्बेवा गाउँपालिका ले ६२ प्रतिशत उत्तीर्ण दरसहित तुलनात्मक रूपमा राम्रो नतिजा निकालेको छ भने मिक्लाजुङ गाउँपालिका को नतिजा ६० प्रतिशतमा पुगेको छ। त्यस्तै हिलिहाङ गाउँपालिका मा ५४ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्।

तर याङवरक गाउँपालिका मा केवल २६ प्रतिशत विद्यार्थी मात्र ग्रेडेड भएका छन् भने कुम्मायक गाउँपालिका मा ३९ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका छन्।

उल्लेखनीय रूपमा नीलगिरि मावि बाट १७ मध्ये १६ विद्यार्थी उत्तीर्ण भएका छन् भने खाल्डे मावि मा ९ मध्ये ८ विद्यार्थी सफल भएका छन्। यस्तै ब्लुमिङ फ्लावर्स इङ्ग्लिस स्कुल र पाथीभरा इङ्ग्लिस बोर्डिङ स्कुल ले शतप्रतिशत नतिजा हासिल गरेका छन्।

शिक्षा विज्ञहरूले ग्रामीण क्षेत्रका विद्यालयहरूमा देखिएको शून्य नतिजालाई गम्भीर संकेतका रूपमा लिँदै शिक्षण गुणस्तर सुधार, शिक्षक व्यवस्थापन र सिकाइ वातावरणमा सुधार आवश्यक रहेको बताएका छन्।

Logo