एनसेल मुख्यालयमा सीआईबीको छापा, लगियो महत्वपूर्ण कागजात

एनसेल मुख्यालयमा सीआईबीको छापा, लगियो महत्वपूर्ण कागजात

केन्द्रबिन्दु
540
Shares

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडको लैनचौरस्थित मुख्यालयमा छापा मारी महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ ।

स्मार्ट टेलिकमको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरेको आशङ्कासँगै एनसेलको शेयर बाँडफाँडलगायत विवादास्पद गतिविधिहरूमाथि अनुसन्धान अगाडि बढाइएको सीआईबी स्रोतले जनाएको छ । सीआईबीका अनुसार, दूरसञ्चार क्षेत्रको अनियमितता अध्ययन गर्न गठित कार्यदलको प्रतिवेदन तथा नेपाल दूरसञ्चार प्राधिकरणको पत्राचारका आधारमा अनुसन्धान सुरु गरिएको हो । छापाका क्रममा स्मार्ट टेलिकमको सम्पत्ति खरिद प्रक्रिया, लिलामी सम्बन्धी सम्झौता र बैंकिङ कारोबारसँग जोडिएका कागजातहरू नियन्त्रणमा लिइएको छ ।

यसै प्रकरणमा सीआईबीले यसअघि नै स्मार्ट टेलिकमका पदाधिकारीहरूलाई पक्राउ गरी सरकारी सम्पत्ति हिनामिना तथा आपराधिक विश्वासघात सम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको छ । सोही अनुसन्धानको क्रममा एनसेल र स्मार्ट टेलिकमबीचको गोप्य सहमति तथा बैंकसँगको मिलेमतोको विषय बाहिर आएपछि एनसेल मुख्यालयमा छापा मारिएको हो । स्मार्ट टेलिकम प्रकरण मात्र नभई, एनसेल पछिल्लो समय शेयर बाँडफाँड, स्वामित्व हस्तान्तरण र कर छली जस्ता विषयमा पनि विवादित बन्दै आएको छ ।

सीआईबीले यी सबै पक्षमा एकीकृत अनुसन्धान अगाडि बढाएको स्रोतको भनाइ छ । नेपाल इन्भेष्टमेण्ट बैंकसँगको कारोबार र अन्य वित्तीय संस्थाहरूसँगको सम्बन्धमाथि पनि छानबिन थालिएको छ । विश्लेषकहरूका अनुसार, यो प्रकरणले दूरसञ्चार क्षेत्रको नियामकीय कमजोरी, बैंकिङ प्रणालीको दुरुपयोग र वैदेशिक लगानीको नाममा हुने वित्तीय अनियमितताका गम्भीर प्रश्नहरू उठाएको छ ।

सीआईबीको यो कारबाहीले लामो समयदेखि ओझेलमा परेका यी विषयहरूमाथि नयाँ बहसको सुरुवात गरेको छ । एनसेलले भने यस विषयमा औपचारिक प्रतिक्रिया दिएको छैन । अनुसन्धानको थप प्रगतिको प्रतीक्षा गरिएको छ ।

Logo