सिन्धुपाल्चोक,१८,पुस
चौतारा साँगाचोकगढी नगरपालिका–१२ की रीता गिरीका लागि बिहान ३ बजे नै बिउँझनु पर्छ। नत्र त पानी नै खान नपाइएला भन्ने पीर । सबेरै कुवामा नपुगे एक गाग्री पानीका लागि घण्टौं लाइनमा बस्नुपर्छ, पालो पर्खिएर। त्यसो त भूकम्प अघि पनि खानेपानीको अभाव नै थियो । तर वर्षौं देखि उपभोग गर्दै आएको खानेपानीको मुहान भूकम्पले च्याप्पै सुकाइदिए पछि साँगाचोकका ४ सय भन्दा बढी घरपरिवार खानेपानी अभावको चपेटामा छन् । ‘पहिले देखि नै समस्या थियो, भएको मुहान पनि भुइँचालोले लग्यो’, रीता भन्छिन्– ‘आधा घण्टा हिँडेर कुवामा पुग्यो, पालो पर्खिएरै बिहान जान्छ।’ ‘बिहान ६ बज्नु अघि नै पँधेरो (कुवा) मा पुग्दा रित्ता गाग्रीहरूको लाइन लामै भइसकेको हुन्छ’, उनी थप्छिन्– ‘कोही त ३ बजे नै पँधेरोमा पुग्छन् ।’
खानेपानीकै अभावमा छटपटाइरहेका भूकम्पपीडितका लागि घर ठड्याउन पनि पानीको समस्या बिकराल बनिरहेको छ । पुनर्निर्माणका लागि सरकारी अनुदानको पहिलो किस्ता लिए पनि अधिकांश लाभग्राहीले पुनर्निर्माण शुरू गरेका छैनन् । निर्माण सामग्रीको चर्को मूल्य र कामदार अभावको अवस्था एकातिर छँदै छ, अर्कातिर पानीकै अभावका कारण पनि पुनर्निर्माणमा ढिलाइ भइरहेको चौतारा साँगाचोकगढी नगरपालिका–१२ का वडाध्यक्ष धु्रवराज गिरी बताउँछन् । ‘खानलाई नै पानी छैन, घर बनाउन पानी कहाँबाट ल्याउनु ?’, गिरी भन्छन्– ‘पानीको ठूलो समस्या भएपछि हामीले लिफ्ट बोरिङ प्रविधिबाट कोल्टा गाउँमा पानी तान्न लागेका छौं।
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया