काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका नेताहरू आज बालुवाटार गएका छन् । आज शीर्ष नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ बिहान सवा ११ बजे बालुवाटार पुगेका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शुक्रबार बसेको सचिवालयको अनौपचारिक बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई सचिवालय बैठक बोलाउन सामूहिक आग्रह गर्ने निर्णय गरेको थियो ।
पार्टी कार्यालय धुम्बाराहीमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहितको अनौपचारिक बैठकले प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष ओलीलाई सहमतिमै बैठक बोलाउन सामूहिक आग्रह गर्ने निर्णय गरेको हो । कार्यकारी अध्यक्ष दाहालले नै औपचारिक बैठक बोलाउन सक्ने भएपनि संकटपूर्ण परिस्थितिमा रहेको पार्टी एकतालाई जोगाएर सहमतिका आधारमा अगाडि बढ्न ओलीलाई सामूहिक आग्रह गर्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
दाहालसहित सचिवालयका पाँच जना सदस्यले शनिबार सामूहिक रुपमा ओलीलाई भेटेर बैठक बोलाउन आग्रह गर्ने निर्णय अनुसार नै आज उनीहरु बालुवाटार गएका हुन् । पार्टीभित्र देखिएको संकट समाधान गर्ने, सकारात्मक ढंगले पार्टीलाई अगाडि बढाउने र अहिलेसम्मको कामहरुको समीक्षा गर्ने, पार्टी निर्णयको कार्यान्वयन गर्ने र पार्टीलाई एकतावद्ध गरेर अगाडि बढाउन आवश्यक कदम चाल्न छिटो बैठक बोलाउन अनुरोध गरिने उनले बताए ।
शुक्रबारको बैठकमा ओलीसहित अन्य सदस्यहरु सहभागि नभएको विषयमा भने उनले अनौपचारिक बैठकका लागि जानकारी गराएको भएपनि कार्यव्यस्तताका कारण सहभागि नभएको बताएका थिए । पछिल्लो समय नेकपाभित्र आन्तरिक विवाद बढ्दै गएको छ । शुक्रबारको बैठकमा अध्यक्ष दाहाल, उपाध्यक्ष बामदेव गौतम, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव कुमार नेपाल तथा प्रवक्ता श्रेष्ठको सहभागिता थियो । यस्तै ओली, ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल र रामबहादुर थापा बादल भने बैठकमा अनुपस्थित थिए ।































प्रतिक्रिया