एमाले अध्यक्ष ओली भावुक स्ट्याटस – ‘स्मृति झन् गाढा हुँदारहेछन्, अभावहरू झन् गहिरिँदारहेछन्’

एमाले अध्यक्ष ओली भावुक स्ट्याटस – ‘स्मृति झन् गाढा हुँदारहेछन्, अभावहरू झन् गहिरिँदारहेछन्’

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन महासचिव मदन भण्डारी र जीवराज आश्रितलाई सम्झना गर्दै सामाजिक सञ्जालमा भावुक स्ट्याटस लेखेका छन् ।

“सम्झना घाउहरु पुराना भए पनि समय बित्दै जाँदा तिनको दुखाइका स्मृति झन् गाढा हुँदारहेछन्, अभावहरू झन् गहिरिँदारहेछन्” एमाले अध्यक्ष ओलीले लेखेका छन् । उनले मदनलाई सम्झँदा केवल एउटा नेता वा मित्र गुमाएको पीडा मात्र होइन, एउटा युगद्रष्टा सहयोद्धा गुमाएको अनुभूति हुने बताएका छन् ।

मदन आश्रित स्मृति दिवसका अवसरमा आज सामाजिक सञ्जालमा लेख्दै मदन प्रतिपादित जनताको बहुदलीय जनवादको वैचारिक विरासतले अझै पनि निरन्तर अगाडि बढ्न, विचलित नभई जनताको पक्षमा उभिन र परिवर्तनको यात्रालाई अधुरो हुन नदिन प्रेरित गरिरहेकै उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘आज मदन–आश्रितको ३३ औं स्मृति दिवस । ३३ वर्ष अगाडि दासढुंगामा भएको रहस्यमय घटनामा हामीले श्रद्धेय जननेता मदन भण्डारी र जीवराज आश्रितलाई गुमायौँ । जननेता मदन भण्डारी मेरो नेता, साथी, सहयोद्धा–सबै हुनुहुन्थ्यो । जीवराज आश्रित कुशल संगठक हुनुहुन्थ्यो । उहाँको विश्वास र अभिन्न निकटतामा रहेर काम गरेको सम्झना भइरहेको छ’ उनले स्मरण गरेका छन् ।

उनले भने, ‘जनताको बहुदलीय जनवाद, जसले विचारलाई युग अनुरूपको मौलिक परिष्कार दियो, आन्दोलनलाई बलियो आवाज दियो र परिवर्तनको सपनालाई जनताको जीवनमा पुर्‍याउने मार्गचित्र दियो । त्यसलाई हामीले समृद्ध नेपाल, सुखी नेपालीुको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानका रूपमा अघि बढायौँ ।’

उनले भनेका छन्, ‘मदन भण्डारी ( जीवराज आश्रित, अनि यस आन्दोलनले जन्माएका केयौँ अग्रज र योद्धाहरू आज हामीमाझ शारीरिक रूपमा हुनुहुन्न । तर विचार र योगदान हाम्रो राजनीतिक यात्रामा दीपस्तम्भझैँ छन् । जनताको बहुदलीय जनवाद एक सिजनको लोकप्रियता आर्जन गर्ने औजार होइन, यथार्थको धरातलमा टेकेर उभिएको विचार हो ।’

Logo