यसरी निर्माण हुँदैछ काभ्रेको मण्डनदेउपुर १० स्थित तीनधारामा नमूना तामाङ बस्ती

यसरी निर्माण हुँदैछ काभ्रेको मण्डनदेउपुर १० स्थित तीनधारामा नमूना तामाङ बस्ती

केन्द्रबिन्दु
0
Shares

काभ्रे ।
काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित चण्डेनी तीनधारामा नमूना तामाङ बस्ती निर्माणको काम तीव्र गतिमा अघि बढिरहेको छ ।

स्थानीय तामाङ संस्कृतिमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धन गर्ने उद्देश्यले होम–स्टेसहितको नमूना तामाङ बस्ती निर्माण थालिएको हो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको आर्थिक सहयोग तथा ह्याविट्याट फर ह्युम्यानिटीको प्राविधिक सहयोगमा यो वर्ष उक्त एकीकृत बस्ती निर्माणको काम अघि बढाइएको नमूना बस्तीका परिकल्पनाकार स्थानीय अगुवा रामबहादुर तामाङले बताए। उनका अनुसार हाल आठ घरको गारो लगाउने काम सकिएको छ । एक घर निर्माण सम्पन्न गर्नका लागि ११ लाख लाग्नेछ । बस्ती निर्माणको लागि प्राधिकरणले पहिलो चरणमा रु एक करोड २० लाख बजेट विनियोजन गरेको थियो । नगर कार्यालयले रु १० लाख थप सहयोग उपलब्ध गराएको तामाङले जानकारी दिए।

“घर निर्माणको लागि आवश्यक ब्लक सोही स्थानमा नै निर्माण गरिरहेका छौँ”, तामाङले भने । नमूना बस्तीमा ब्लकको चारकोठे एक तले पक्की घर निर्माण हुनेछ भने घरको छानो जस्ताको हुनेछ । नमूना बस्ती तीनधारामा ३० वटा पक्की घर निर्माण हुनेछ । बस्तीमा स्थानीय तामाङ समुदायका विपन्न भूकम्प पीडित परिवार राखिने तामाङले बताए । बस्ती निर्माण कार्ययोजना अनुसार ३० घरले अनिवार्य होम–स्टेका लागि एउटा कोठा व्यवस्थित गर्नु पर्नेछ । नमूना बस्तीमा एक सामुदायिक भवन निर्माण गर्ने योजना छ । सामुदायिक भवन निर्माणका लागि ४० लाख छुट्याइएको छ । सामुदायिक भवनमा विवाह, ब्रतबन्ध, घेवा (तामाङ समुदायको काजकिरिया), तामाङ रीतिरिवाज, संस्कृति झल्काउने तामाङले पुज्ने देवीदेवता, जाँतो, ढिकी, डम्फु, ढ्याङग्रो लगायतका सामग्री संग्रहित गरिने तथा यसबारे जानकारीसमेत दिइने तामाङले बताए।

योजना अनुसार बस्तीको बीचमा बगैँचा बन्नेछ । होम–स्टेमा आउने पाहुनाका लागि तामाङ समुदायको ‘टिपीकल’ खाना खुवाइनेछ । नगर प्रमुख टोकबहादुर वाइवाले होम–स्टेसहितको नमूना तामाङ बस्ती निर्माण सुरु भएकोमा खुसी व्यक्त गरे । उनले भने, “जिल्लाकै उत्कृष्ट नमूना बस्तीका रुपमा विकसित गर्दै जानेछौँ ।” उनका अनुसार ३० पर्यटकलाई होम–स्टेमा राख्न सकिनेछ ।

हाल गारो निर्माण सकिएका केही घरमा छानो हाल्ने काम शुरु गरिएको छ । छ घरको एक ब्लक बनाइ पाँच ब्लकमा ३० वटा घर बनाइने भएको हो । नमूना बस्ती निर्माणलाई समयमै सम्पन्न गर्न नेपाली सेना, नेपाल रेडक्रस सोसाइटी र ह्याविट्याट फर ह्युम्यानिटीका स्वयंसेवक आउने तयारी भइरहेको तामाङले बताए। आउँदो पुस महिनाभित्र नमूना बस्तीका ३० घर निर्माण सम्पन्न गरेपछि सामुदायिक भवन र बगैँचा निर्माण गर्ने योजना बनाइएको छ । “अपुग बजेटका लागि दाताको खोजी गर्दैछौँ” तामाङले भने।

बस्ती निर्माणका लागि गतवर्ष नै बजेट विनियोजन गरिएको थियो । सो वडामा अहिले एकिकृत बस्ती निर्माण शुरु भएपछि विस्थापित हुने क्रममा रहेका विपन्न वर्गलाई सहज हुने वडाध्यक्ष विष्णुमणि नेपालले जानकारी दिए । उनका अन्ुसार वडाले बस्ती निर्माणमा सहजीकरण गरिरहेको छ ।

सो वडाको थामिडाँडामा पर्यटकिय गन्तव्यका लागि अहिले भ्यु टावर निर्माणको कामलाई पनि अघि बढाइएको छ भने बेसीभेग स्थित जोगिटारमा हरितपार्क निर्माण पनि सकिएको वडाध्यक्ष नेपालले बताए ।रासस

तस्वीर : राम लामा

Skip This
Skip This
Logo