हुम्ला । गएराति परेको असिना–पानीले बाढीपहिरो आउदा हुम्लाको चंखेली गाउँपालिका–५ नेप्का गाउँमा आएको ठूलो क्षति पुगेको छ ।
वडानम्बर ५ का वडाध्यक्ष हर्कधन तामाङका अनुसार गडाँफे आधारभूत विद्यालय नै बगाएको छ । साथै खेतीयोग्य जग्गा र गोठहरु पनि बगाएको प्रारम्भिक जानकारी आएको उनले बताए ।
केही परिवारको गोठ पनि पहिरोले पुरेको छ । त्यसबाट भेँडाबाख्रामा क्षति पुगेको छ ।
वडाध्यक्ष तामाङले मानवीय क्षति भएको बारे भने अहिलेसम्म जानकारी नभएको बताए । उनले भने, ‘म गाउँपालिकाको केन्द्रमा छु, गाउँमा कोदो खेती हुने धेरै जग्गा बाढीले क्षतविक्षत बनायो रे। ‘जग्गा त तहसनहस पारेर केही बाँकी छैन रे, रातिको घटना भएकाले क्षतिको एकिन हुनसकेको छैन,’ उनले भने ।
घटनास्थलमा मेल्छाम प्रहरीचौकीको टोली आज बिहान प्रस्थान गरेको छ । प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीले नेप्का गाउँ दुर्गममा भएकाले क्षतिको पूर्ण विवरण आउन नसकेको बताए । ‘बाढी–पहिरोले क्षति पुगेको भन्ने सूचना पाएको छु । स्थानीय र प्रहरीमार्फत् बुझ्ने काम भइरहेको छ,’ उनले भने ।































प्रतिक्रिया