लालझाडी कञ्जगाउँवासीको कहरः ‘बाढी र रोग सधैको हाम्रो विपद्’

लालझाडी कञ्जगाउँवासीको कहरः ‘बाढी र रोग सधैको हाम्रो विपद्’

केन्द्रबिन्दु
6
Shares

लालझाडी (कञ्चनपुर)। विसं २०७९ असार २५ को साँझ । सिमसिम पानी त परिरहेकै थियो । थप ठूलो पानी पार्ने सङ्केत आकाशमा थिएन । गाउँ नजिकको दोदा नदीमा बेग उर्लिएको थिएन । आकाश र नदी हेरेर केही ढुक्क भएर कञ्ज गाउँवासी सुत्ने तरखरमा थिए, निदाउन भने भ्याएका रहेनछन् ।

वर्षाका समय । एक्कासी गाउँको माथिल्लो भेगमा घोप्टे वर्षा भएपछि तटीय भेगमा दोदा नदी उर्लेर आयो । एकाएक भेल गाउँमै पस्नै लाग्यो । सर्वत्र अन्धकार । लालझाडी–२ का वडाध्यक्ष आशाराम रानाले तत्क्षणलाई सम्झँदै भने, “मध्यरातमा हाहाकार मच्चियो । हेर्दाहेर्दै नदीको भेल गाउँमै पस्न लाग्यो । गाउँलेले आशा मार्न थाले । बालबच्चा बोकेर जाने ठाउँ पनि भएन ।”

पछिल्ला दिन कञ्जगाउँ लगभग टाकुराजस्तै भएको छ । हिउँदमा नदी छ र ? भन्ने अवस्था हुन्छ । विशाल बगरमात्र देखिन्छ । उनले भने, “हेर्नुस् त नदी नै भन्न नसक्ने अवस्था छ र ? बगरमात्र छ । बगर छ, पानी छैन । लाग्छ यस्तो अकल्पनीय अवस्था आउँछ भनेर पत्याउन गाह्रो छ । गाउँलेले तत्काल बाढी आइहाल्यो भने कटान रोक्न आफ्ना घरमा राखेका बाँस प्रयोग गरे । रातका समयमा जसोतसो गाउँले मिलेर नदीको बेगलाई जैविक र परम्परागत सीप प्रयोग गरेर गाउँ पस्नबाट रोके । धान र उखुबाली डुबायो । रोक्न नभ्याएको भए अहिले कञ्चगाउँ रहँदैनथ्यो ।”

आपत्कालीन अवस्थामा नदीको भेल गाउँमा पस्न नदिन र कटान रोक्न सिङ्गो बाँस र बाँसको पात प्रयोग गरिँदोरहेछ । यसका लागि सामग्री पूर्वअवस्थामा राखिँदोरहेछ । लालझाडी–१ का वडाध्यक्ष प्यारेलाल रानाका अनुसार दोदा नदीको सतह बर्सेनि बढिरहेको छ । वर्षात्मा बगेर आएका माटो र बालुवाले नदीको सतह निरन्तर माथि आइरहेको छ । सतह कति बढ्यो भन्ने एकिन नाप हालसम्म कुनै निकायबाट गरिएको रहेनछ ।

नदीले निरन्तर धार परिवर्तन गरिरहेको छ । उनले भने, “नदीले आफ्नो बहाव बर्सेनि परिवर्तन गरिरहेको छ । कटान र डुबानले नसताएको वर्ष हुन्न । नदीले कति कटान गरेर लग्यो, अन्नबाली कति डुबानमा परेँ, जङ्गली जनावरले कति बाली सखाप पारे कुनै हिसाबकिताब छैन । यस्तो पीडा कति सुनाउनु । हाम्रो काम त पीडा सुन्ने र सुनाउनेमात्र भएको छ । छाडेर जाऔँ कहाँ जाने, बसौँ बस्न सक्ने अवस्था रहेन ।”

रोगसँग लडदै लालझण्डी

सबर्सेनि बाढी, कटान तथा जङ्गली जनवारबाट कहर भोगिरहेका कञ्चनपुरको अति दुर्गम भेग लालझाडीवासी पछिल्ला वर्ष नसर्ने रोगले प्रभावित बन्न थालेका छन् । विपद्को सधैँ उच्च जोखिममा रहेको यो गाउँपालिका नसर्ने रोग वृद्धिको ‘ग्राफ’ निरन्तर बढ्दो छ ।

यहाँको नसर्ने रोग (रक्तचाप, मधुमेह, क्यान्सर, मुटु तथा रक्तनली तथा श्वासप्रश्वास) को बारेमा ‘डिएचआइएस–२’ भन्छ, “आव २०७८/७९ मा रक्तचाप २५७, मधुमेह १२४, रक्तनली तथा श्वासप्रश्वास १२२ जनामा थियो । आव २०८१/८२ यो सङ्ख्या लगभग दोब्बर भएको छ । अर्थात् क्रमशः ६००, २५० र २५२ जनामा ती रोगको समस्या छ ।” यो सङ्ख्या चालु आवमा झन् बढ्ने आकलन छ ।

विश्व स्वास्थ्य सङ्गठनले ‘पेन डी’ कार्यान्वयनमा स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयलाई सहयोग गरिराखेको भए पनि विपद्का अवस्थामा यो प्रभावकारी छैनन् । यस्तो अवस्थामा उपचार रोकिने, सेवन गरिराखेका औषधि रोकिने र विस्थापितसमेत हुनुपर्ने अवस्था रहेको ‘रेजिलिएयन्स एन्सिडी परियोजनाका’ स्वास्थ्य कार्यक्रमका सहसंयोजक अनिल महर्जनले बताए ।

नेपालमा अकालमै हुने मृत्युदर र अपाङ्गताको प्रमुख कारक नसर्ने रोग बन्दै गएका छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०१९ मा ७१ प्रतिशत मृत्युको कारकका रूपमा देखिएको नसर्ने रोग सन् २०४० सम्ममा ७९ पुग्ने प्रक्षेपण छ ।

लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले ‘रेजिलिएयन्स नसर्ने रोग उपचार सेवा’ परियोजना गाउँपालिकामा कार्यान्वयनमा आएपछि नसर्ने रोगका बारेमा धेरै जानकारी प्राप्त भएको बताए । विशेषगरी पालिकाका कञ्ज, डुगा, कस्वाकञ्च, विनवारी विचवा, सिकलपटी, वैजनाथ टोल, अन्नपूर्ण टोल, विनयवारी विचवा, विछुवा टोल, देउवाटोल, चानदेव, सिकलपाटी मुक्त, कञ्ज, कश्वा, विछुवा टोल, गाउँपालिका भवन, स्वास्थ्य संस्थालगायत डुबानका जोखिममा रहन्छन् ।

लालझाडी गाउँपालिका विपद् शाखा प्रमुख हेमराज उपाध्याय बाढी र डुबानको उच्च जोखिम क्षेत्रमा गाउँपालिकाका अधिकांश वडा रहेको जानकारी दिँदै दोदा नदी नियन्त्रणमा ध्यान दिन सुझाव दिए ।

Logo