काठमाडौं । भारतमा ‘कक्रोच जनता पार्टी’ (सीजेपी) अभियानले सामाजिक सञ्जाल तताएको छ । भारतको सर्वोच्च अदालतका मुख्य न्यायाधीश जस्टिस सूर्यकान्तले युवाहरूलाई ‘कक्रोच’सँग तुलना गर्दै दिएको अभिव्यक्तिपछि यो अभियान चर्चामा आएको हो ।
यद्यपि, जस्टिस सूर्यकान्तले शनिबार आफ्नो टिप्पणीबारे स्पष्टीकरण दिँदै सञ्चारमाध्यमको एक हिस्साले आफ्ना भनाइलाई गलत तरिकाले प्रस्तुत गरेको बताएका थिए । उनको अभिव्यक्तिपछि सुरु भएको व्यंग्यात्मक सामाजिक सञ्जाल अभियान अहिले व्यापक रूपमा फैलिएको छ ।
‘कक्रोच जनता पार्टी’ नाममा वेबसाइटसमेत बनाइएको छ भने इन्स्टाग्राममा यसको ९० लाखभन्दा बढी फलोअर भइसकेका छन् । साथै, दुई लाखभन्दा बढी मानिसले वेबसाइटमार्फत सदस्यताका लागि दर्ता गरेको बताइएको छ ।
कक्रोच जनता पार्टीको वेबसाइटमा यसको संस्थापक तथा संयोजकका रूपमा अभिजीत दीपकेको नाम उल्लेख गरिएको छ । बीबीसी न्युज मराठीसँग कुरा गर्दै उनले यो अभियान किन सुरु गरे भन्नेबारे बताएका छन् ।
यो अभियानको विचार कहाँबाट आयो भन्ने प्रश्नमा उनले भने, ‘म एक्स (ट्विटर)मा भारतका मुख्य न्यायाधीशको एउटा अभिव्यक्ति हेरिरहेको थिएँ, जहाँ उनले देशका युवालाई व्यवस्था आलोचना गर्ने र आफ्ना धारणा राख्ने विषयमा कक्रोच र परजीवीसँग तुलना गरेका थिए ।’
‘मलाई त्यो निकै हास्यास्पद लाग्यो, किनकि मुख्य न्यायाधीशलाई संविधानको संरक्षक मानिन्छ । त्यही संविधानले सबैलाई अभिव्यक्ति स्वतन्त्रताको अधिकार दिएको छ । अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्ने व्यक्तिले युवालाई कसरी कक्रोच र परजीवीसँग तुलना गर्न सक्छ ?’
उनले भने, ‘त्यसले मलाई निकै आक्रोशित र निराश बनायो । मैले ट्विटरमा आफ्नो प्रतिक्रिया लेखेँ र सोधेँ—यदि सबै कक्रोच एकजुट भए भने के हुन्छ ?’
त्यसपछि जेन–जी र २५ वर्षमुनिका युवाबाट निकै रोचक प्रतिक्रिया आए । उनीहरूले हामी एकजुट हुनुपर्छ र एउटा प्लेटफर्म बनाउनुपर्छ भने ।’
‘त्यसपछि मलाई लाग्यो कि एउटा अनलाइन व्यंग्यात्मक पार्टी बनाउनुपर्छ, जसको नाम ‘कक्रोच जनता पार्टी’ राखियो । यदि तपाईंहरूले हामीलाई कक्रोच भन्नुहुन्छ भने ठीक छ, हामी त्यही नामको पार्टी बनाउँछौँ ।’
‘मुख्य न्यायाधीशले युवालाई अपमान गर्न प्रयोग गरेका सबै शब्दलाई हामीले सदस्य बन्ने मापदण्ड बनायौँ। केही घण्टामै यसको प्रभाव देखिन थाल्यो र मानिसहरूले प्रतिक्रिया दिन तथा दर्ता गर्न थाले ।’
‘त्यसपछि हामीलाई लाग्यो कि यो केवल मजाकमा सीमित रहनेवाला छैन । मानिसहरू निराश भइसकेका थिए । त्यसैले हामीले वेबसाइट बनायौँ, पार्टीको घोषणापत्र तयार गर्यौँ । अहिले इन्स्टाग्राममा ४० लाखभन्दा बढी फलोअर छन् र दुई लाखभन्दा बढी मानिस सदस्यका रूपमा दर्ता भइसकेका छन् । भारतीय राजनीतिमा लामो समयपछि यस्तो अभूतपूर्व प्रतिक्रिया देखिएको हो ।’
धेरै चर्चित व्यक्तिहरूले पनि यो अभियानलाई समर्थन गरेका छन् । अभिजीत भन्छन्, ‘पूर्व क्रिकेटर तथा सांसद कीर्ति आजादले आफू पार्टीमा सामेल हुन चाहेको बताएका छन् । महुआ मोइत्राले पनि समर्थन जनाएकी छन् । अन्य धेरैले पनि समर्थन गरिरहेका छन् र यो अहिले चर्चा कै विषय बनेको छ ।’































प्रतिक्रिया