उदयपुर । उदयपुरको विकट पहाडी क्षेत्रको ताप्ली गाउँपालिका–५ भदौरेका चक्रबहादुर मंग्रातीले जीवनभर मेहनतले जोतेको खेतबारी, पुर्ख्यौली घर र गाउँ नै छाड्नुपर्यो । हरेक वर्ष खेतबारीमा लगाएको धान, मकै, कोदो, फलफूल र तरकारी बाँदरले सखाप पार्न थालेपछि उनी विकल्पहीन बने । अनेक उपाय अपनाउँदा पनि खेती जोगिन नसकेपछि मंग्राती परिवारसहित काठमाडौंको कीर्तिपुर बसाइँ सरेका छन् ।
अहिले उनी दैनिक ज्याला मजदुरी गरेर जीविका चलाइरहेका छन् । ‘खेती नै हाम्रो जीवन थियो तर, बाँदरले उत्पादन भित्र्याउनै दिएन,’ मंग्रातीले पीडा पोख्दै भने, ‘महिनौंको दुःख एकैछिनमा सखाप पारिदिएपछि गाउँ छाड्नुको विकल्प रहेन ।’
मंग्राती मात्रै होइन, भदौरे र आसपासका गाउँबाट ईश्वर नेपाली, कृष्ण मंग्राती, शारदा भट्टराई, नरबहादुर कार्कीलगायत धेरै परिवार बाँदर आतंककै कारण विस्थापित भएका छन् । ताप्ली–५ मादलेका दिनेश खिलिगेंको पीडा पनि उस्तै छ । ‘बारीमा लगाएको मकै कहिल्यै घर भित्र्याउन पाइएन,’ उनले भने, ‘चौबिसै घण्टा बाँदर कुरेर बस्न सकिँदैन, कतिबेला आएर सबै सखाप पार्छ, थाहै हुँदैन, अन्ततः बारी बाँझै छाडेर बसाइँ सर्नुपर्यो ।’
किसानहरू आजित भएपछि ताप्ली गाउँपालिकाले आर्थिक वर्ष ०८१/०८२ मा ८ लाख रुपैयाँ बजेट विनियोजन गरेर बाँदर धपाउने बन्दुक खरिद गरेको थियो । ४२ वटा टोल विकास संस्थालाई एक–एक थानका दरले बन्दुक वितरण गरियो । गाउँपालिका अध्यक्ष ढुंगराज विश्वकर्माका अनुसार सुरुवातमा बन्दुकको आवाजले बाँदर भाग्ने गरेका थिए । ‘पहिला आवाज सुन्नासाथ भाग्थे,’ उनले भने, ‘अहिले त बन्दुक पड्किँदा पनि वास्ता गर्न छाडिसके । कानुनी रूपमा मार्न नपाइने भएकाले नियन्त्रणका अन्य उपाय पनि प्रभावकारी हुन सकेका छैनन् ।’
कटारी नगरपालिका–२ गुराँसका किसान उद्धव खत्री बाँदरले आँपको बोटमै चिचिला नष्ट गर्न थालेपछि चिन्तित छन् । फूल लाग्न थालेदेखि नै बाँदरले सखाप पारिदिने भएकाले मेहनत खेर जाने गरेको उनले बताए ।
स्थानीयका अनुसार वनजंगल विनाश हुँदै जाँदा जंगलमा पर्याप्त आहारा नपाएका बाँदर बस्ती पस्न थालेका हुन् । अहिले खेतबारी मात्र होइन, घरभित्र पसेर समेत उपद्रव मच्चाउने गरेको गुनासो बढ्दो छ । उदयपुरगढी गाउँपालिका–४ ढुाग्रेका कटकबहादुर मगर भन्छन्, ‘दिनभर त पहरा दिएकै हुन्छौं । कति बेला हुल आएर सबै नष्ट गरेर जान्छन् ।’ बाँदरले करेसाबारीका तरकारी, फलफूल मात्र होइन, घरको बार्दलीमा राखिएका सामग्रीसमेत नष्ट गर्न थालेको स्थानीय बताउँछन् ।































प्रतिक्रिया