पाँचथर । अविरल वर्षासँगै आएको बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो परिमाणका भौतिक संरचनामा क्षति पुर्याएको छ । शुक्रबार राति भएको वर्षासँगै आएको बाढीले दोभाने खोला, तमोर खोला र मध्य पहाडी राजमार्ग आसपास निर्मित संरचनासँगै केही नागरिकका घर बगाएको हो ।
बाढीले पाँचथर र तेह्रथुमलाई जोड्ने निर्माणाधीन पक्की पुल पनि बगाएको छ । पाँचथरकै याङवरक गाउँपालिकामा पर्ने दोभाने खोला र त्यहा सञ्चालित हाइड्रो पावरसहित दर्जनौ संरचनामा क्षति पुगेको छ । अविरल वर्षा हुँदा माथिबाट आएको पहिरोले याङवरक ३ र ७ को सिमावती लाम्वाखोला ढाँड एकराते निवासी महमलाल खबास र कविन्द्र खबासको घर बगाएको छ ।
वर्षापछि त्यस क्षेत्रमा टेलिफोन सम्पर्कसमेत हुन सकिरहेको छैन । जसकारण क्षतिको विवरण संकलन गर्न कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डिएसपी अनिषकुमार कर्णले बताए ।
यस्तै याङवरक १,२ र ३ का विभिन्न खोला नालामा लगाइएका झोलुङ्गे र पक्की पुलमा पनि बाढीले क्षति पुर्याएको छ । सडक माथिदेखि आएको पहिरोका कारण मध्यपहाडी राजमार्ग अन्तर्गत च्याङथापु–थर्पु खण्ड अवरुद्ध भएको छ । साँझपख भएको वर्षापछि त्यस क्षेत्रमा बाढी आएको थियो ।































