सरकारद्वारा कोरोनाको खोप खरिद प्रक्रिया शुरु

सरकारद्वारा कोरोनाको खोप खरिद प्रक्रिया शुरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल सरकारले कोरोना भाइरस (कोभिड–१९) को खोप खरिद प्रक्रियाका लागि पहल थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् लगायत सरकारका सरोकारवाला निकायको संयुक्त पहलमा कोभिड खोप खरिद प्रक्रिया थालेको हो ।

परीक्षणमा सफल भएर विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) को मान्यता पाएका जुनसुकै खोप छिट्टै नेपाल भित्र्याउन सरकार सक्रिय रहेको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीले कोभिड भ्याक्सिनको नेपालमा क्लिनिकल परीक्षण र खरिदका दुवै प्रक्रियामा नेपाल सरकार अघि बढेको बताए ।

अहिले विश्वका विभिन्न मुलुकले कोभिड–१९ विरुद्धको खोपको परीक्षण अन्तिम चरणमा पुर्याइसकेका छन् । “कुनै पनि मुलुकको परीक्षण झ्याप्प सफल भइहाल्यो भने त खोप किन्नुपर्ने हुन्छ, त्यसैले पनि सरकारले पहल थालेको हो,” ज्ञवालीले भने ।

उनले खोप खरिदको प्रक्रियासँगै क्लिनिकल परीक्षण पनि नेपालमा गर्नका लागि सँगसँगै पहल भइरहेको जानकारी दिए। डा. ज्ञवालीले खोप परीक्षण र खोप भित्र्याउने कार्यक्रम भने छुट्टाछुट्टै विषय भएको पनि बताए । खोप परीक्षणको विषय भनेको फरक रहेको भन्दै उनले परीक्षण भएकै खोप नेपालमा परिचालन हुन्छ भन्ने नरहेको बताए। यो चिकित्सा विज्ञानको एक प्रकारको नियमित गतिविधि भएकाले नेपालमा खोपको क्लिनिकल परीक्षण हुँदैमा डराउनुपर्ने विषय नरहेको उनको भनाइ थियो ।

तर नेपालमा पनि क्लिनिकल परीक्षण भएको खोप नै विश्वमा सफल भएको खण्डमा त्यो नेपाल भित्र्याउन सहज हुने उनको भनाइ छ । तथापि त्यो खोप नेपालमा नभित्रिएको अवस्थामा पनि क्लिनिकल परीक्षण भने जारी रहने विश्वास सम्बन्धित मुलुकका कम्पनी र सरकारलाई दिलाइएको उनले बताए ।

यसअघि नेपालमा क्लिनिकल र सामुदायिक परीक्षणमा समेत खोपको परीक्षण गर्ने सवालमा पहल र बहस दुवै भएको थियो तर मानव समुदायमा खोपको परीक्षण गर्ने विषयमा विज्ञको मत बाझिएपछि त्यो प्रक्रिया नेपालमा नगर्ने निधो सरकारले गरेको थियो तर क्लिनिकल परीक्षणमा भने नेपाल विभिन्न मुलुकसँग साझेदारी गरेर अघि बढ्न भने विज्ञहरू सहमत भएका थिए । परिषद्का अनुसार चीनको कम्पनी होङ्सी कम्पनीले उत्पादन गर्न लागेको खोपको क्लिनिकल परीक्षण नेपालमा हुने विषयमा पनि थप छलफल भइरहेको छ ।गोरखापत्रबाट

Logo