काठमाडौं । इरान युद्धका कारण चार दिने भ्रमणका लागि पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ शनिबार चीन प्रस्थान गर्नुभएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएको छ ।
पाकिस्तानी प्रधानमन्त्रीले चिनियाँ उच्च अधिकारीसँग भेट्ने कार्यक्रम तय भएको तर उहाँहरूबीच मध्यपूर्वमा द्वन्द्वको बारेमा छलफल हुनेछ वा हुनेछैन भन्ने बिषयमा चिनियाँ विदेश मन्त्रालयले अझै भनाइ सार्वजनिक गरेको छैन । इस्लामाबाद र बेइजिङ दुवैले मध्यपूवै तनाव अन्त्यका लागि मध्यस्थता गर्न खोजेका छन् ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको वार्ता रोकिएको बताउनुभएको छ। फेब्रुअरीमा इरानमाथि अमेरिका–इजरायल आक्रमणबाट सुरु भएको युद्ध अन्त्य गर्ने प्रयासस्वरूप पाकिस्तानको मध्यस्थतामा अप्रिल ८ देखि दुई हप्ताका लागि युद्धविरामको घोषणा गरिएको थियो ।
युद्धले मध्यपूर्वलाई सङ्कटग्रस्त बनाएको छ भने र विश्व अर्थतन्त्रलाई तहसनहस पारेको छ। चीनको चार दिने औपचारिक भ्रमणको लागि प्रधानमन्त्री सरिफ शनिबार झेजियाङ प्रान्तको हाङझोउस्थित विमानस्थलमा अवतरण गरेको चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।
यसै साताको सुरुमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले ‘साझा चासोका विषयहरू’ मात्र छलफल हुने बताए । गुओले मध्यपूर्वमा शान्ति र स्थिरताको शीघ्र बहालीका लागि चीनले पाकिस्तानसँग मिलेर काम गर्ने बताए । उनले भने, “शान्ति प्रबद्र्धन गर्न र युद्ध अन्त्य गर्न निष्पक्ष र सन्तुलित मध्यस्थताको भूमिका निर्वाह गर्न चीनले पाकिस्तानलाई सहयोग गर्नेछ ।”
पाकिस्तान संयुक्त राज्य अमेरिका र इरानबीच केन्द्रीय मध्यस्थकर्ताको रूपमा देखा परेको छ । जसले गत महिना ऐतिहासिक प्रत्यक्ष वार्ताको आयोजना गरेको थियो तर वार्ताले दिगो समाधान दिन नसकेपछि थप वार्ताको पहल भइरहेको छ।
बितेका दुई हप्तामा बइेजिङमा अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भ्रमण भएको छ भने पाकिस्तानी प्रधानमन्त्री यो अवधिमा चीन भ्रमण गर्ने तेस्रो उच्च पदस्थ विदेशी नेता हुन् ।































प्रतिक्रिया