काठमाडौं । साउदी अरबको राष्ट्रिय तेल कम्पनी साउदी आरम्कोको परियोजनामा काम गर्ने नेपालीसहित आप्रवासी श्रमिक गम्भीर जोखिममा रहेको एक अन्तराष्ट्रिय अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ ।
आप्रवासी श्रमिकको मानव अधिकारसम्बन्धी अनुसन्धान गर्ने लण्डनस्थित संस्था फेयर स्क्वायरद्वारा हालै सार्वजनिक प्रतिवेदनअनुसार साउदी आरम्को परियोजनामा कार्यरत नेपालीसहित विदेशी श्रमिकलाई अत्यधिक गर्मीमा लामो समयसम्म काम गराइने, असुरक्षित आवासस्थलमा राखिने, पर्याप्त आराम र खाना नदिने, दुर्घटना वा मृत्यु हुँदा समेत उचित क्षतिपूर्ति नपाइने अवस्था छ ।
आम्दानीका आधारमा यो विश्वकै चौथो ठूलो कम्पनीमध्ये पर्छ । कम्पनीसँग विश्वकै दोस्रो ठूलो प्रमाणित कच्चा तेल भण्डार छ र अहिले पनि विश्वकै सबैभन्दा ठूलो तेल निर्यातकर्ता मानिन्छ । आरम्कोमा साउदी सरकार र सार्वजनिक लगानी कोषको करिब ९८ प्रतिशत स्वामित्व छ । आरम्कोले तेल बिक्रीबाट कमाउने आम्दानी साउदी सरकारको कुल राजस्वको करिब २ तिहाइ हिस्सा मानिन्छ ।
‘द वाल स्ट्रिट जर्नल’का अनुसार अराम्कोसँग साउदीभित्र मात्रै १० हजारभन्दा बढी आपूर्तिकर्ता कम्पनी छन् । ती कम्पनीअन्तर्गत विभिन्न उपठेकेदारमार्फत श्रमिक भर्ना गरिन्छ । यही जटिल संरचनाका कारण श्रमिकमाथि हुने शोषणमा जिम्मेवारी निर्धारण गर्न कठिन हुने गरेको प्रतिवेदनले जनाएको छ । यी परियोजनामा साउदीको निर्माण क्षेत्रमा कार्यरत नेपाली श्रमिकको करिब २० प्रतिशत कार्यरत छन् ।
अराम्कोका विभिन्न परियोजनामा काम गर्ने श्रमिकहरूले ५० डिग्री सेल्सियसभन्दा बढी तापक्रममा दैनिक १२ देखि १४ घण्टासम्म काम गर्नुपरेको बताएका छन् । धेरै श्रमिक गर्मीका कारण कार्यस्थलमै बेहोस हुने प्रतिवेदनमा उल्लेख छ । ‘हामीसँग काम गर्ने धेरै साथी गर्मीका कारण कार्यस्थलमै ढलेको देखेँ । मलाई गर्मीमा बाहिर काम गर्न निकै कठिन भयो । १० महिना काम गरेपछि साउदी छाडे,।’ एक कामदारले बताए ।
प्रतिवेदनमा अराम्कोको २१ अर्ब अमेरिकी डलर लागतको ‘मार्जन इन्क्रिमेन्ट’ परियोजनामा काम गरेका श्रमिकका अनुसार यहाँ जुन र जुलाई महिनामा तापक्रम ५० डिग्री सेल्सियसभन्दा माथि पुग्ने गर्छ । पानीको कमी र अत्यधिक गर्मीका कारण धेरै श्रमिक बेहोस हुने गरेका छन् । ‘धेरै जना गर्मीले ढल्थे । शरीरका अंगले काम गर्न सक्दैनथ्यो,’ उनले भने ।
जिजानस्थित परियोजनामा काम गरेका अर्का नेपाली श्रमिकका अनुसार एक नेपाली साथी हिड्दा हिड्दै बेहोस भएर ढले । ‘गाडी आयो, पानी छर्कियो र उनलाई एयर कन्डिसन भएको कोठामा लगियो । कोही बेहोस् भए उनीहरूलाई कोठामा एक्लै छाडिन्छ,’ उनले भने,‘त्यहाँ जे पनि हुन सक्छ ।’ सुरक्षा अधिकारीहरूले १ घण्टा काम गरेपछि १५ मिनेट आराम गर्न भने पनि व्यवहारमा त्यो सम्भव नभएको उनले बताए ।
‘सेफ्टीका मान्छेले लगातार काम नगर, एक घण्टा काम गरेर १५ मिनेट आराम गर’ भन्थे । तर, फोरम्यानले जबर्जस्ती काम लगाउँथे । त्यसैले निरन्तर काम गर्नुपर्थ्यो,’ उनले भने, ‘लामो समय चर्को गर्मीमा काम गरेपछि स्वास्थ्य बिग्रियो । मलाई मिर्गौला रोग लागिसकेछ ।’
प्रतिवेदनले श्रमिकहरूको बसोबास अवस्था पनि दयनीय रहेको जनाएको छ । धेरै श्रमिक कन्टेनरमा कोचिएर बस्न बाध्य छन् । पानी पर्दा करेन्ट लाग्ने, शौचालय सफा नहुने र गुणस्तरहीन खाना दिइने उनीहरूको गुनासो छ । सबैभन्दा गम्भीर विषय भने कामकै क्रममा मृत्यु वा गम्भीर बिरामी भए श्रमिकका परिवारले न्याय नपाउनु रहेको प्रतिवेदनमा उल्लेख छ । अध्ययन गरिएका ६ घटनामध्ये एक परिवारले मात्रै उचित क्षतिपूर्ति पाएको पाइएको छ । कामकै क्रममा पक्षघात भएका एक श्रमिककी पत्नीले भनिन्, ‘कम्पनीले केही सहयोग गरेन । हामीसँग उपचार गर्ने पैसा छैन ।’





























प्रतिक्रिया