काठमाडौं, ११, पुस
निर्वाचन आयोगले प्रदेशसभाको समानुपातिक तर्फ पाएको सिट अनुसार उम्मेदवारको नामावली सिफारिस गर्न राजनीतिक दलहरूलाई पत्राचार गरेको छ। आयोगका सचिव वेगेन्द्रराज शर्मा पौड्याल मुख्य निर्वाचन अधिकृत रहनु भएको समानुपातिक निर्वाचन एकाइले पत्र पठाएको हो। आयोगले शुक्रबार प्रदेशसभाको समानुपातिक तर्फ पाएको मतलाई सिटमा परिणत गरी सार्वजनिक गरेको थियो। सोही अनुरूप उम्मेदवारहरूले यसअघि आयोगमा बुझाएको बन्दसूची अनुरूप उम्मेदवार नामावली सिफारिस गर्ने व्यहोरा सहित पत्र दलहरूलाई पठाइएको हो।
प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका २०७४ बमोजिम राजनीतिक दलहरूले ७ दिन भित्र उम्मेदवार नामावली पेस गर्नु पर्नेछ । दलले प्राप्त गर्ने सिट संख्या निर्धारण गर्दा त्यस्तो दलले प्राप्त गरेको सिट संख्याको आधारमा महिला तथा अन्य समावेशी समूह एवं अल्पसंख्यक समुदाय तथा पीछडिएको क्षेत्रबाट प्रतिनिधित्व गराउनु पर्ने संख्या समेत आयोगले निर्धारण गरेको छ ।
महिलाको संख्या निर्धारण गर्दा त्यस्तो दलको तर्फबाट सम्बन्धित प्रदेशसभामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने कुल सदस्य संख्याको कम्तीमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुने गरी निर्धारण गर्नु पर्ने पनि निर्वाचन अधिकृत पौड्यालले जानकारी दिए ।
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया