काठमाडौं । नेपालको ९७ प्रतिसत घरमा खानेपानी र ६२.६१ प्रतिशत जमिनमा सिँचाइ सुविधा पुगेकाे आर्थिक सर्वेक्षणले देखाएको छ ।
चालु आर्थिक वर्षको फागुनसम्म संघीय सरकारका सिँचाइ आयोजनाअन्तर्गत सतह सिँचाइ १ हजार ४ सय ५० हेक्टर र जलाशय तथा लिफ्ट सिँचाइ १ सय २० हेक्टर गरी १ हजार ५ सय ७० हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ।
आर्थिक सर्वेक्षण रिपोर्टअनुसार २०८२ फागुनसम्म १५ लाख ८७ हजार ९ सय १० हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ। असार २०८२ सम्म १५ लाख ८६ हजार ३ सय ४० हेक्टर जमिनमा सिँचाई सुविधा विस्तार भएको थियो। मुलुकभर कुल कृषियोग्य जमिन ३५ लाख ५७ हजार ७ सय ६४ हेक्टरमध्ये २०८२ फागुनसम्म ४४.६३ प्रतिशत जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ।
सिँचाइयोग्य जमिन २५ लाख ३६ हजार ३ सय १९ हेक्टरमध्ये फागुन २०८२ सम्म ६२.६१ प्रतिशत जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ । २०८२ असारसम्म कृषियोग्य जमिनको ४४.५९ प्रतिशत र सिँचाइयोग्य जमिनको ६२.५४ प्रतिशत जमिनमा सिँचाइ सुविधा विस्तार भएको थियो। सुरक्षित आवास कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षको फागुनसम्म ९४ हजार ६ सय ३१ फुसका घर (आवास) जस्तापाताले विस्थापन गरिएको आर्थिक सर्वेक्षणमा उल्लेख छ।
काठमाडौं उपत्यकाको सार्वजनिक स्थल र सरकारी अस्पतालमा गरेर ३१ वटा वाटर एटीएम जडान गरिएको छ। गत फागुनसम्म काठमाडौं उपत्यकाको सार्वजनिक स्थल, सरकारी अस्पताल लगायतका विभिन्न ३१ स्थानमा वाटर एटीएम जडान गरिएको आर्थिक सर्वेक्षणमा उल्लेख छ।
चालु आर्थिक वर्षमा वर्षात्को पानी संकलनसम्बन्धी कार्यक्रमबाट काठमाडौं उपत्यकाभित्रका थप ३ स्थानमा वर्षात्को पानी संकलन गर्ने प्रविधि जडान गरिएको छ। यसले गर्दा ९ सय जनसंख्यामा खानेपानीको सेवा पुगेको छ।
उपत्यकाभित्र २ सय ६५ सरकारी विद्यालय, ४९ सरकारी भवन र ८९ सार्वजनिक भवन गरी हालसम्म ४ सय ३ स्थानमा वर्षात्को पानी संकलन प्रविधि जडान गरिएको आर्थिक सर्वेक्षणमा उल्लेख छ। फागुन २०८२ सम्म ९७ प्रतिशत जनसंख्यामा आधारभूत खानेपानीको पहुँच पुगेको छ।































प्रतिक्रिया