५० युनिटभन्दा बढी विद्युत खपतमा भ्याट लगाउने निर्णय तत्काल फिर्ता गरियोस् – कुलमान घिसिङ

५० युनिटभन्दा बढी विद्युत खपतमा भ्याट लगाउने निर्णय तत्काल फिर्ता गरियोस् – कुलमान घिसिङ

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विद्युत खपतमा अतिरिक्त कर लगाउने निर्णय गरेको प्रति उज्यालो नेपाल पार्टीले कडा आपत्ति जनाएको छ।

पार्टीका अध्यक्ष कुलमान घिसिङले आज ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्तामाथि ५ प्रतिशत मूल्य अभिवृद्धि कर लगाउने निर्णय तत्काल फिर्ता लिन माग गरेका हुन् । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, “खाना पकाउने, पानी तताउने जस्ता घरायसी प्रयोजनमा विद्युतको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने बेला सरकारले उल्टै करको भार थपेर उपभोक्तालाई दण्डित गर्न खोजेको देखिन्छ ।”

उज्यालो नेपाल पार्टीले ५० युनिटभन्दा बढी विद्युत खपत गर्नेहरू अधिकांश सामान्य घरायसी उपभोक्ता रहेको स्मरण गराउँदै यो निर्णयले लाखौँ परिवारको भान्सा महँगो बनाउने दाबी गरेको छ। सरकारको यस्तो नीतिले गर्दा विद्युतीय चुलोको प्रयोग घट्ने र पुनः एलपी ग्यासकै निर्भरता बढ्ने खतरा औँल्याइएको छ। यसले गर्दा व्यापार घाटा न्यूनीकरण र हरित अर्थतन्त्र निर्माणको लक्ष्यमा समेत धक्का पुग्ने पार्टीको ठहर छ।

विद्युतको आन्तरिक खपत बढाउनु आजको प्रमुख आवश्यकता रहेको उल्लेख गर्दै अध्यक्ष घिसिङले महसुललाई थप न्यायोचित र उपभोक्तामैत्री बनाउनुको साटो नयाँ कर थोपर्नु न्यायसंगत नभएको बताएका छन‍् । पार्टीले स्वदेशी विद्युतको उपयोग र आम उपभोक्ताको हितलाई ध्यानमा राखी उक्त ५ प्रतिशत अतिरिक्त करको निर्णय तत्काल फिर्ता लिन सरकारसँग जोडदार माग गरेको छ।

Skip This
Skip This
Logo