काठमाडौं । सन् १९३० मा उरुग्वेमा सम्पन्न पहिलो फिफा विश्वकपले विश्व खेलकुदमा एउटा नयाँ अध्यायको सुरुवात गरेको थियो । १७ दिनसम्म अर्थात् जुलाई १३ देखि ३० सम्म चलेको यो प्रतियोगिता धेरै हिसाबले अनौठो र रोमाञ्चकताले भरिएको थियो । आयोजक राष्ट्र उरुग्वेले नै फाइनलमा अर्जेन्टिनालाई ४–२ ले पराजित गर्दै पहिलो विश्वकप उपाधि जितेको थियो ।
उरुग्वेले प्रतियोगिताभर ४ खेलमा ३ गोल मात्र खाए १५ गोल गरेर उक्त उपाधि जितेको थियो । त्यस्तै अर्जेन्टिना उपविजेता, संयुक्त राज्य अमेरिका तेस्रो र युगोस्लाभिया चौथो भएका थिए । पहिलो विश्वकपमा जम्मा १८ खेल मात्र खेलिएको थियो । जहाँ प्रतियोगिताभर ७० गोल भएका थिए भने अर्जेन्टिनाका गुलर्मो स्टाबिलले ८ गोल गर्दै सर्वाधिक गोलकर्ता बनर पहिलो फिफा विश्वकपको गोल्डेन बुट जितेका थिए ।
पहिलो फिफा विश्वकपमा १३ राष्ट्र मात्र सहभागी भएका थिए । यो संख्या हालसम्म सञ्चालित फिफा विश्वकपकै सबैभन्दा कम थियो । जहाँ ७ दक्षिण अमेरिकाबाट, ४ युरोपबाट र २ उत्तर अमेरिकी कन्टिनेन्टबाट छनौट भएका थिए । टाढाको यात्रा र महामन्दीका कारण धेरै युरोपेली राष्ट्रहरू यस प्रतियोगितामा सहभागी हुनै सकेनन् ।
त्यस्तै, यस संस्करणको विश्वकपमा कुनै पनि राष्ट्रहरुले छनोट चरण नै नखेली मुख्य प्रतियोगिता खेलेका थिए । उक्त समय फिफाका सबै सदस्य राष्ट्रलाई विश्वकप खेल्न प्रत्यक्ष निम्तो पठाइएको थियो । सोच्नुस् त यदि नेपाल त्यति बेला नै फिफाको सदस्य भएको भए नेपालले पनि फिफा विश्वकप खेल्ने थियो । त्यति मात्र होइन युरोपेली टोलीहरू एउटै जहाजमा १६ दिनको लामो समुद्री यात्रा गरेर उरुग्वे पुगेका थिए । उनीहरूले जहाजको डेकमै प्रशिक्षण गरेका थिए ।
त्यस्तै, अर्को रोचक तथ्य रोमानियाको फुटबल टोलीलाई कुनै प्रशिक्षकले नभई देशका राजा क्यारोल द्वितीय आफैले चयन गरेका थिए । उनले राजगद्दी सम्हालेको ३५ दिनभित्रै विश्वकपलाई प्राथमिकतामा राखेर टोली उरुग्वे पठाएका थिए ।
त्यसैगरी फिफा विश्वकप इतिहासकै पहिलो गोल फ्रान्सका लुसियाँ लोराँले मेक्सिकोविरुद्ध १९औं मिनेटमा गरेका थिए । साथै फाइनल खेलमा कुन देशको बल प्रयोग गर्ने भन्नेमा ठूलो विवाद भएको थियो । तर अन्ततः पहिलो हाफमा अर्जेन्टिनाको बल र दोस्रो हाफमा उरुग्वेको बल प्रयोग गर्ने भनेर दुवै राष्ट्रले सहमति जनाएपछि उक्त विवाद टुङ्गिएको थियो ।
यसैगरी फिफा विश्वकपको पहिलो अभागी राष्ट्र अर्जेन्टिना हो । उत्कृष्ट खेल पस्कदै प्रतियोगिताभर विजेता उरुग्वेभन्दा ३ गोल बढी अर्थात १८ गोल गरेर फाइनलसम्मको यात्रा तय गरे पनि अर्जेन्टिनाले उपाधि भने जित्न सकेन । अन्त्यमा आजभन्दा ९३ वर्षअघि सुरु भएको फिफा विश्वकप र अबको २ सातापछि सुरु हुने फिफा विश्वकपमा प्रमुख भिन्नताका रुपमा सहभागी राष्ट्रहरुको संख्या नै प्रमुख देखिएको छ । पहिलो विश्वकपमा जम्मा १३ राष्ट्र सहभागी थिए भने सन् २०२६ को विश्वकपमा ४८ टोलीले भाग लिने छन् ।































प्रतिक्रिया