धनकुटा । भारतको बिहारमा यतिबेला तापक्रम बृद्धि भइरहेको छ । विहारमा ३५ डिग्री सेल्सियस तापक्रम नाघेका बेला विराटनगरमा ३० डिग्री आसपास छ । विराटनगरबाट ६० किलोमिटर उत्तरमा रहेको पर्यटकीय गन्तव्य भेडेटारमा भने यतिबेला पनि जाडो छ । त्यहाँको तापक्रम २० डिग्री हाराहारी छ । त्यसमाथि जतिबेला लाग्ने बाक्लो हुस्सु लाग्छ। बेला–बेला सिमसिम पानी पर्छ । क्षण भरमै घामपनि लाग्छ ।
गर्मी छल्न भेडेटारमा आन्तरिकसँगै भारतीय पर्यटकको भीड लाग्छ थालेको छ । अहिले भारतीय पर्यटकका कारण चहलपहल बढेको स्थानीय पर्यटन व्यवसायीको भनाई छ । ‘विहारबाट गर्मी छल्ल आउने बढ्दै छन्’, स्थानीय होटल व्यवसायी सञ्जय राईले भने,‘जसले पर्यटन क्षेत्रलाई चलायमान बनाएको छ ।’
समुद्री सतहबाट करिब १ हजार ४ सय मिटर उचाइमा रहेको भेडेटारमा सयौं भारतीय पर्यटक पुग्ने गरेका छन् । हरिया डाँडाकाँडा, शीतल मौसम र सूर्योदय–सूर्यास्तको मनोरम दृश्य पर्यटकको रोजाइमा पर्ने गरेको छ । होटल व्यवसायीका अनुसार विहारको पूर्णिया, कटिहार, अररिया, किसनगञ्ज, सहर्षा र भागलपुरलगायत क्षेत्रबाट धेरै पर्यटक आउने गर्छन् ।
शनिबार अपरान्ह उनीहरु नेपाल छिर्छन् । प्राय: शनिबार रात यतै बिताएर आइतबार अपरान्ह फर्किने गरेको भेडेटारका होटल संचालक जुद्धबहादुर लिम्बुले बताए । ‘प्राय: रात बिताउने गरी आउँछन्,’ उनले भने, ‘परिवारै आउने भएकाले उनीहरु घुमफिरका साथै खानपिनमा रमाउँछन् ।’
भेडेटार होटल एसोसिएसनका अध्यक्ष रमेश श्रेष्ठका अनुसार गर्मी छल्न आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । शनिबार र आइतबार दुई दिन बिदा हुन थालेपछि आन्तरिक पर्यटकको संख्या बढेको उनले बताए। भेडेटारमा साना–ठूला र मझौला गरी दुई सयभन्दा बढी होटल संचालनमा छन् । सबै होटल भरिभराउ हुने गरेको उनले बताए । ‘शनिबार आएर रात बिताएपछि भारतीय पर्यटक आइतबार फर्किने गरेका छन्’, श्रेष्ठले भने,‘विहारमा मदिरामाथि बन्देजका कारण रमाउने उद्देश्यले यहाँ आउने गरेका हुन् ।’
उनका अनुसार अधिकांश भारतीय पर्यटक परिवारसहित निजी वा रिजर्भ गाडीमा आउने गरेका छन् । कतिपय विराटनगरसम्म रेल वा हवाईमार्गबाट आएर त्यहाँबाट सडकमार्ग हुँदै भेडेटार पुग्ने गर्छन् । सडकमार्गबाट करिब २ देखि साढे दुई घन्टा यात्रा गरेपछि भेडेटार पुग्न सकिन्छ ।
विहारको कटिहारबाट परिवारसहित घुम्न आएका अमनकुमारले भेडेटारको मौसमले सधैं तान्ने गरेको सुनाए । ‘अनि हरिया डाँडाकाँडा पनि हाम्रा लागि नौलो कुरा हो,’ उनले भने । व्यवसायीका अनुसार भारतीय पर्यटक सामान्यतया १ देखि २ दिनसम्म भेडेटार तथा आसपासका क्षेत्रमा बस्ने गर्छन् ।
उनीहरूले लज, खानपान, यातायात, मनोरञ्जन तथा किनमेलमा कम्तीमा १० हजारदेखि बढीमा एक लाख रुपैयाँसम्म खर्च गर्ने गरेका छन् । भेडेटार पुगेका पर्यटकले घुमघामसँगै स्थानीय हस्तकला, अलैंची, चिया, तरकारी तथा नेपाली परिकार किनेर लैजाने गरेका छन् । ‘यसले अर्थतन्त्रलाई चलायमान बनाएको छ’, होटल एसोसिएसनका सचिव श्रेष्ठ भन्छन् ।































प्रतिक्रिया