काठमाडौं । सरकारले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) मा रहेको आफ्नो सेयर स्वामित्व घटाएर ६६ प्रतिशतमा झार्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत संघीय सरकारको सेयर ६६ प्रतिशत कायम राखी बाँकी सेयर पुस मसान्तभित्र जनस्तरमा बिक्री गर्ने योजना अघि सारिएको हो। यसरी सेयर बिक्रीबाट प्राप्त हुने रकम नेपाललाई ‘टेक हब’ बनाउन उपयोग गरिने अर्थमन्त्री स्वर्णिम वाग्लेले बताए।
यसअघि पनि टेलिकममा सरकारको सेयर हिस्सा परिवर्तन गरी सर्वसाधारणको सहभागिता २५ प्रतिशतदेखि ३४ प्रतिशतसम्म पुर्याउने विषयमा चर्चा हुँदै आएको थियो। टेलिकममा विदेशी रणनीतिक साझेदार भित्र्याउने विषयमा पनि समय–समयमा बहस चल्दै आएको थियो। तर, यस पटक सरकारले जनस्तरमा सेयर लैजाने स्पष्ट बाटो समातेको छ। हाल टेलिकममा सरकारको ९१.४९ प्रतिशत, नागरिक लगानी कोषको ०.०३ प्रतिशत र सर्वसाधारण तथा कर्मचारीको ८.४८ प्रतिशत सेयर स्वामित्व छ।
सर्वसाधारणमा थप करिब २६ प्रतिशत सेयर बिक्री गर्दा ठूलो मात्रामा पुँजी परिचालन हुने दूरसञ्चारविज्ञ आनन्दराज खनाल बताउँछन्। ‘टेलिकमको वर्तमान वित्तीय अवस्था राम्रो छैन,’ खनालले भने, ‘पछिल्लो समय सञ्चालन घाटामा छ। यस्तो अवस्थामा सेयर खरिदका लागि सर्वसाधारणमा कत्तिको उत्साह होला !’ टेलिकममाथि आगामी पाँच वर्षभित्रै २० अर्ब रुपैयाँ लाइसेन्स नवीकरण दस्तुर बुझाउनुपर्ने ठूलो दायित्व रहेको औंल्याउँदै खनालले नवीकरण शुल्कसम्बन्धी नीति सुल्झाउन आवश्यक रहेको जनाए।
फाइभजीजस्ता नवीनतम प्रविधिका लागि ४०/४५ अर्ब रुपैयाँ थप चाहिएको छ। आम्दानी घटिरहेको, खर्च बढिरहेको अवस्थामा कम्पनीले नवीकरण र पूर्वाधार विस्तारलाई कहाँबाट पैसा ल्याउन सक्छ ?’
कम्पनी घाटामा सञ्चालन भए पनि बैंकमा रहेको निक्षेपको ब्याजबाट नाफा देखाएर टेलिकमले सेयरधनीलाई ३० प्रतिशत नगद लाभांश (डिभिडेन्ड) बाँडिरहेको भन्दै खनालले यसलाई देशको ‘विचित्रको अवस्था’ भनेका छन् । ‘यो २० अर्बको समस्या सम्बोधन नगर्ने र ब्याजबाट आइरहेको पैसाले लाभांश बाँड्ने हो भने भविष्यमा कम्पनी बन्द हुने जोखिम छ,’ उनले भने ।
दूरसञ्चार क्षेत्रमा लाइसेन्स नवीकरण, सेयर संरचना, विदेशी लगानीका विषयमा लामो समयदेखि अलमलमा रहेका प्रावधान स्पष्ट पार्न भन्दै दूरसञ्चार ऐन संशोधनको प्रयास हुँदै आएको छ। यस पटक पनि अर्थमन्त्री वाग्लेले विधेयक संसद्मा पेस गर्ने भनेका छन्।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नेपाल टेलिकमको कुल सञ्चालन आय २५ अर्ब ९२ करोड १६ लाख रुपैयाँ रहेको र ६ अर्ब २७ करोड २९ लाख खुद मुनाफा आर्जन गरेको कम्पनीको वित्तीय विवरणमा उल्लेख छ। कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ४६.४७ कायम भएको र यो अघिल्लो वर्षको तुलनामा ९.९ प्रतिशतले बढेको विवरणमा भनिएको छ।





























प्रतिक्रिया