वेपत्ता नेपाली नर्सको शव दुई वर्षपछि फेला

वेपत्ता नेपाली नर्सको शव दुई वर्षपछि फेला

केन्द्रबिन्दु
48
Shares

काठमाडौं। अमेरिकाको भर्जिनियास्थित मनासास पार्कबाट नेपाली नर्स ममता काफ्ले भट्ट बेपत्ता भएको झन्डै दुई वर्षपछि यस प्रकरणमा नयाँ फरेन्सिक प्रमाण फेला परेको छ ।

सन् २०२४ को जुलाई–अगस्ट महिनामा आफ्नो घरबाट रहस्यमय रूपमा बेपत्ता भएकी २८ वर्षीया ममताको खोजी र अनुसन्धानका क्रममा एउटा आराबाट मानव कपाल र रौँका टुक्राहरू फेला परेका हुन् ।

भर्जिनियाको फरेन्सिक विज्ञान विभागका अनुसन्धानकर्ताहरूले बरामद गरेका यी प्रमाणहरूलाई अहिले राज्यका अधिकारीहरूले थप परीक्षण गरिरहेका छन् । फक्स फाइभले प्राप्त गरेको अदालतको नयाँ दस्तावेज अनुसार फरेन्सिक अनुसन्धानकर्ताहरूले उक्त आराबाट संकलन गरिएका प्रमाणहरूको विस्तृत विश्लेषण गरेका छन् ।

वैज्ञानिकहरूले परीक्षण गरेका सामग्रीहरूमा तीनवटा कपाल, १३ वटा कपालका टुक्रा, केही रेशा र फोहोरका कणहरू रहेका छन् । अनुसन्धानकर्ताहरूले सुरुमा यी प्रमाणहरूको भिजुअल परीक्षण गर्नुका साथै ‘स्टेरियो माइक्रोस्कोपी’ प्रविधिको प्रयोग गरेका थिए र त्यसपछि थप फरेन्सिक विश्लेषण अगाडि बढाएका हुन् ।

अदालतको अभिलेख अनुसार आरामा फेला परेका तीनवटा मानव कपाल ‘न्युक्लियर डीएनए परीक्षण’ का लागि उपयुक्त हुन सक्ने देखिएको छ । ती कपाललाई थप विस्तृत परीक्षणका लागि फरेन्सिक बायोलोजी सेक्सनमा पठाइएको छ ।

यद्यपि, त्यहाँ भेटिएका अन्य १३ वटा कपालका टुक्रा भने न्युक्लियर डीएनए परीक्षणका लागि उपयुक्त नभएको फरेन्सिक अधिकारीहरूले जनाएका छन् । आराबाट बरामद गरिएका ती कपालहरू अहिले राज्यको सेन्ट्रल ल्याबोरेटरीमा थप डीएनए विश्लेषणको प्रक्रियामा रहेका छन् ।

यस बहुचर्चित प्रकरणमा ममताका श्रीमान् नरेश भट्टमाथि कानुनी कारबाहीको प्रक्रिया जारी छ । उनलाई श्रीमतीको हत्या गरेको र शव लुकाएको अभियोगमा पक्राउ गरी हिरासतमा राखिएको छ । अभियोजकहरूले नरेशले नै ममताको हत्या गरेको दाबी गरे पनि हालसम्म ममताको शव भने फेला पर्न सकेको छैन ।

सन् २०२४ मा ममता बेपत्ता भएदेखि नै अमेरिकी प्रहरी र फरेन्सिक टोलीले यसको अनुसन्धान गरिरहेको छ । अहिले फेला परेको नयाँ प्रमाणले सरकारी वकिल र अनुसन्धानकर्ताहरूलाई नरेश भट्टविरुद्धको मुद्दा अझ बलियो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । डीएनए परीक्षणको रिपोर्ट आएसँगै यस रहस्यमय घटनाबारे थप तथ्यहरू बाहिर आउने अनुमान गरिएको छ ।

Logo