तीन करोड मुल्यका गहनासहित व्यापारी पक्राउ

तीन करोड मुल्यका गहनासहित व्यापारी पक्राउ

केन्द्रबिन्दु
3
Shares

कर्णाली । जिल्ला प्रहरी कार्यालयले वीरेन्द्रनगर नगरपालिका–६ तल्लोबजारस्थित श्यामसुन्दर अग्रवालको शिव इम्पेरियम (कपडा पसल) मा सोमबार साँझ छापा मारी सुनचाँदीका झण्डै ३ करोड मूल्यका गहनासहित २ लाख १९ हजार ५ सय नेपाली रुपैयाँ र ८ लाख ११ हजार ८ सय भारतीय रुपैयाँ (१२ लाख ९८ हजार नेपाली रुपैयाँ) बरामद गरेको छ ।

भारतीय मूलका व्यापारी ६३ वर्षीय अग्रवाल नेपालगन्ज उपमहानगरपालिका–१० का स्थायी बासिन्दा हुन् । आफ्ना बुवाले सुरु गरेको व्यवसाय विस्तार गरी उनले थोक मूल्यमा कपडाको व्यापार गर्दै आएका थिए । जिल्ला प्रहरी प्रवक्ता डीएसपी कविन्द्रसिंह बोहराका अनुसार इम्पोरियममा भारतीय रुपैयाँ र गरगहना धितो राखी उच्च ब्याजमा नगद दिने गरेको सूचनाका आधारमा प्रहरीले छापा मारेको हो ।

व्यापारी अग्रवालको गोदाममा सुन र चाँदीका गरगहना राखिएका १ सय ८५ थान बट्टा, पोका र डिब्बा बरामद गरिएको छ । उनको गोदामबाट पैसा गन्न प्रयोग हुने मेसिनसमेत बरामद गरिएको उनले जानकारी दिए । ‘निज अग्रवाललाई पनि पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेका छौं,’ डीएसपी बोहराले भने, ‘अरू कुरा अनुसन्धानबाट खुल्दै जाला ।’

Logo