तराईबाट काठमाडौं छिर्ने छोटो सडक कान्ति लोकपथ, सुस्त पुनर्निर्माण, सधै पहिरोको जोखिममा

तराईबाट काठमाडौं छिर्ने छोटो सडक कान्ति लोकपथ, सुस्त पुनर्निर्माण, सधै पहिरोको जोखिममा

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने कान्ति लोकपथमा पहिरोको सधैं जोखिम हुने गरेको छ । ४५ दिनयता पहिरोका कारण लोकपथ ८ पटक अवरुद्ध भइसकेको छ । सामान्य वर्षामै पहिरो खस्ने समस्याले सडक अवरुद्ध हुने गरेको छ ।

सुक्खा पहिरोले समेत घन्टौंसम्म लोकपथ बन्द हुने गरेको छ । वैशाखदेखि जेठ १५ सम्म ८ पटक लोकपथमा यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय ठिंगनका प्रहरी नायब निरीक्षक प्रमोदप्रसाद साह तेलीले बताए । यो अवधिमआ वर्षाका कारणले माथिबाट पहिरो गएर ५ पटक र सुक्खा पहिराले ३ पटक कान्ति लोकपथ अवरुद्ध भएको उनले बताए ।

मुख्यगरी मकवानपुरतर्फको ठिंगनदेखि बागमती पुलसम्मको खण्ड अत्यन्त जोखिम रहेको उनले बताए । भीमफेदी गाउँपालिका-८ भर्‍याङङाँडा, गगटे, बकैया गाउँपालिकाको घट्टेपाखा र लेनडाँडा क्षेत्रमा पहिरोले यातायात अवरुद्ध हुने गरेको हो ।

भर्‍याङडाँडामा जेठ १३ गते सुक्खा पहिरो खस्दा हेटौंडाबाट काठमाडौंतर्फ गइरहेको मोटरसाइकल दुर्घटना भएको थियो । जेठ १५ गते बागमती खोलाको बाढीले निर्माणाधीन पुलको सामान बगाएको थियो । बाढीले पुरानो पुलको पहुँचमार्ग पनि बगाएको थियो । पहाडी भागमा रहेको सडकको माथिल्लो भाग अत्यन्त खुकुलो माटो र ग्रेगान भएकाले पहिरोको जोखिम रहेको कान्ति लोकपथ आयोजनाका सूचना अधिकारी उपेन्द्र महरानले बताए । जोखिमयुक्त खण्डमा पहिरोको रोकथामका लागि अध्ययन भइरहेको उनले बताए ।

७ दशक बित्न लाग्दासमेत कान्ति लोकपथको निर्माण कार्य अझै पूरा हुन सकेको छैन । काठमाडौं–वीरगन्ज जोड्ने त्रिभुवन राजपथको विकल्पका रुपमा विसं २०१३ सालबाट यो लोकपथ निर्माण सुरु भएको हो । यो लोकपथलाई काठमाडौं–हेटौंडा जोड्ने छोटो दुरीको वैकल्पिक मार्गको रुपमा लिने गरिन्छ ।

७९ किलोमिटर लम्बाइ रहेको मुलुककै पुराना सडक आयोजनामध्येको उक्त लोकपथको निर्माण ७ दशकमा ७१ प्रतिशत सम्पन्न भएको छ। नेपाली सेनाले २०१३ सालदेखि २०१६ सम्म यसको ट्रयाक खोलेर निर्माण सुरु गरेको थियो।

आयोजनाका सूचना अधिकारी महरानले आयोजनाको करिब तीन तिहाइ काम भइसकेको बताए । बजेटको अभाव तथा प्राकृतिक कारण आयोजना सम्पन्न हुन ढिलाइ भएको दाबी गरे । विसं २०१३ देखि लोकपथको ट्रयाक खोल्ने कार्य सुरु गरेको भए पनि २०६४/०६५ देखि नेपाल सरकारले प्राथमिकतामा राखेर निर्माण सुरु गरेको सूचना अधिकारी महरानले बताए । उनले भने, ‘०६४/०६५ देखि अहिलेसम्म उक्त लोकपथको निर्माणका ८ अर्ब ४० करोड रुपैयाँ लगानी भइसकेको छ ।’

आगामी आर्थिक वर्ष ०८३/८४ सम्म आयोजनाको सम्पूर्ण काम सम्पन्न गर्ने लक्ष्य लिएको आयोजनाले जनाएको छ । ७९ किलोमिटर लम्बाइ रहेको यो लोकपथको अब साढे चार किलोमिटर मात्र कालोपत्र गर्न बाँकी छ । कालोपत्र बाँकी रहेको ठाउँमा अहिले एक लेनको सडक छ । चट्टान काटेर उक्त स्थानमा दुई लेनमा स्तरोन्नति गर्नु पर्छ । दुरी कम भए पनि भौगोलिक कठिनाइका कारण काम सम्पन्न गर्न समय लागेको सूचना अधिकारी महरानले बताए ।

चालु आर्थिक वर्षका लागि ठेक्काको कुल दायित्व १ अर्ब ५० करोड रहेको छ । चालु ठेक्काको विनियोजन रकम ४७ करोडमात्र रहेको छ । उक्त लोकपथको रेटिङवाल, कटिङ, ढल र कालोपत्र गर्नका लागि ८ वटा ठेक्का लगाइएको छ । सबै ठेक्कामा निर्माण कम्पनीहरुले धमाधम काम गरिरहेका छन् ।

काठमाडौंतिरबाट लोकपथको शून्य किलोमिटर ललितपुरको टीकाभैरव रहेको छ भने हेटौंडाबाट यसको शून्य किलोमिटर हेटौंडाको बुद्धचोक रहेको छ। हेटौंडाको बुद्धचोकदेखि टीकाभैरवसम्मको सडक कान्तिलोक पथ सडक योजनाले हेर्ने गर्छ भने ललितपुरको टीकाभैरवदेखि सातदोबाटोसम्मको १० किलोमिटर सडक उपत्यका सडक विस्तार आयोजनाले हेर्ने गर्छ । यस सडकमध्ये ललितपुरमा ३९ किलोमिटर र मकवानपुरमा ४० किलोमिटर पर्छ।

नेपाली सेनाले सडक निर्माणको थालनी कान्तिलोक पथबाट सुरु गरेको हो । सेनाले अहिले तीन दर्जनभन्दा बढी सडकमार्ग निर्माण गरेर सरकारलाई हस्तान्तरण गरिसकेको छ । पछिल्लो समयमा सेनाले काठमाडौं-निजगढ फाष्टट्रयाक (द्रुतमार्ग) निर्माणको जिम्मेवारी पनि लिएको छ ।

Skip This
Skip This
Logo