त्रिशूली(नुवाकोट), ६ पुस ।
दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीका वडाध्यक्ष सुनबहादुर तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोलीले पक्राउ गरेको छ ।
मानव बेचबिखनमा संलग्न भएको आरोपमा नुवाकोट जिल्ला अदालतमा मुद्दाको तारेख खेप्दै आएका सुनबहादुरलाई व्युरोले बुधबार अपराह्न घ्याङफेदीस्थित वडा कार्यालयबाट पक्राउ गरी काठमाडौं लगेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित ४९ वर्षीय सुनबहादुर मानव बेचबिखन तथा ओसारपसारका आरोपमा मुद्दा खेपिरहेको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए ।
अभियुक्तविरुद्ध मानव बेचबिखन घटनामा संलग्न भएको आरोपमा २०७१ साल वैशाख ५ गते नुवाकोट जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । पीडित एक महिलाले सुनबहादुरसहित अवतार, पासाङ, राधा, टीकाराम तामाङलाई विपक्षी बनाएर मुद्दा दायर गरेकी थिइन् । दश महिना अगाडि पक्राउ परेका उनी ६ लाख रुपैंया धरौटीमा तारेखमा रिहा भएका थिए ।
वैशाख ३१ गतेको निर्वाचन अगावै मानव बेचबिखन मुद्दा खेपिरहेकै क्रममा उम्मेदवारी दिएर उनी निर्वाचित भएका थिए । सो मुद्दामा उनले नुवाकोट जिल्ला अदालत विदुरमा आफैंँ उपस्थित भएर मासिक रुपमा पेशी लिइरहेको जिल्ला अदालतका श्रेष्तेदार महिमानसिंह विष्टले बताए । उनको अर्को तारेख यही पुस ११ गते रहेको छ ।































प्रतिक्रिया