काठमाडौं । पर्वतमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।कुश्मा नगरपालिका–२ खुर्कोट अर्मादी घुम्तीमा ग.१ क २९२९ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ध.२ प ३८०५ नम्बरको मोटरसाइकललाई ठोकिँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
बुधबार साँझ पोखराबाट मुस्ताङतर्फ जाँदै गरेकोले ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक हिरा गर्बुजा र पछाडि सवार सुजन भण्डारीको मृत्यु भएको हो।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि प्रदेश अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन पटेलले जानकारी दिए।
दुवैको शव परीक्षणका लागि अस्पतालको शवगृहमा राखिएको छ। दुर्घटनापछि प्रहरीले ट्रक चालक मनोज थापालाई पक्राउ गरेको छ।
त्यस्तै पृथ्वी राजमार्ग अन्तर्गत जिल्लाको म्याग्दे गाउँपालिकामा बिहीबार बिहान ६:२० बजे एम्बुलेन्स र मिनी ट्रक एक आपसमा ठोक्किँदा ६ जना घाइते भएका छन् । म्याग्दे–६ मनहरी भएको दुर्घटनामा घाइते ६ जनामध्ये एक जनाको अवस्था गम्भिर रहेको छ ।
पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख ५६५९ नम्बरको मिनी ट्रक र विपरीत दिशाबाट जाँदै गरेको लु.प्र.०१–००१ झ ००४६ नम्बरको एम्बुलेन्स एकआपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा एम्बुलेन्स चालक रोल्पाको थवाङ गाउँपालिका–२ निवासी २४ वर्षीय कुशल परियार, सोही स्थानकी ६१ वर्षीया जुनराखी बुढा मगर, २५ वर्षीया अञ्जना बुढा मगर, ३ वर्षीय युवान बुढा मगर, पूर्वी रुकुमको भूमे गाउँपालिका–७ निवासी ३६ वर्षीया चिजमाया घर्ती र रोल्पाको थवाङ गाउँपालिका–२ निवासी ६० वर्षीय धनप्रसाद बुढा मगर घाइते भएका छन्।
घाइतेमध्ये चालक परियार र जुनराखी बुढा मगरको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, झरौटामा उपचार भइरहेको छ । अञ्जना बुढा मगरको अनुहार, छाती, टाउको तथा दाहिने खुट्टामा चोट लागेको र उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । अञ्जनासहित युवान बुढा मगर, चिजमाया घर्ती र धनप्रसाद बुढा मगरको प्रदेश अस्पताल दमौलीमा उपचार भइरहेको छ।





























प्रतिक्रिया